
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ज्योतिनगर क्षेत्रका पहिरोबाट विस्थापित भएका पीडितलाई अस्थायी आवासका लागि घरबहाल खर्च रकम सहयोग गर्ने भएको छ ।
हालैको अविरल वर्षापछि आएको पहिरो र बाढीले घर भत्किएका र उच्च जोखिमले घरमा बस्नै नमिल्ने अवस्था उत्पन्न भएर विद्यालयमा आश्रय लिन बाध्य भएका पीडितलाई वडा विपद् व्यवस्थापन समितिको सिफारिसमा राहत स्वरूप रकम उपलव्ध गराउने भएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक तथा उपमहानगरपालिका प्रमुख सुवेदीको अध्यक्षतामा बुटवलमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रभावित क्षेत्रमा उपमहानगरले गरिरहेका निरन्तरका विपद् व्यवस्थापन, क्षति न्यूनीकरण र पुनःस्थापनाका कामलाई सहकार्यमा थप प्रभावकारी बनाउने समेत निर्णय गरेको छ ।
पहिरो र बाढीले पूर्ण रूपले घरआवास क्षति भएर विद्यालयमा आश्रय लिई बसेका र अन्यत्र कुनै घर बसोबास नभएका पीडित परिवारका लागि वडा विपद् व्यवस्थापन समितिको सिफारिसमा विद्यालयबाट तत्काल स्थानान्तरण गरी अन्यत्र बहालमा बस्नका लागि तत्काललाई बहाल खर्च रकममा राहत स्वरूप सहयोग गर्ने निर्णय भएको प्रमुख सुवेदीले बताए ।
विस्थापितका लागि पुनःस्थापना गर्न सम्बन्धित वडाबाट पीडितको माग निवेदनसहित विवरण संकलन गरी जिल्ला विपद् व्यवस्थापन समितिमार्फत प्रक्रिया अगाडि बढाइने भएको छ । बहुप्रकोपको संकटासन्न अवस्थालाई कम गर्न, विपद् व्यवस्थापन, क्षति न्यूनीकरण र पुनस्थापनाका कामलाई प्रभावकारी बनाउन तीनै तहका सरकार र संयन्त्रका बीचमा सहकार्यको खाँचो रहेको समेत बैठकले ठहर गरेको छ ।
बुटवल उपमहानगरपालिका तिनाउ दानव नदीमा ठुलो बाढी आई कटान गरेको र चुरे क्षेत्रमा रहेका वडा नम्बर १, २, ३, ४, ५, ६, ११, १२, १३, १७, १८ मा क्षतिको विवरणसहित जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयमा संरक्षण र तटबन्धका लागि सहयोग गर्न उपमहानगरले अनुरोध गरेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।
यसअघि भदौ १३ गते आएको भिषण वर्षाले बुटवल–३, ४ को ज्योतिनगर, लक्ष्मीनगर चुरे क्षेत्रमा पहिरो गएको थियो । पहिरोले केही घर प्रभावित भएका थिए । सोही दिनदेखि पहिरो प्रभावित क्षेत्रमा लेदो, ढुंगा–माटो हटाउने काममा उपकरण सहितको उपमहानगरको टोली खटिएको छ ।
नगरस्तरीय सीसीएमसीको निर्णय बमोजिम तत्काल मशिन/साधन परिचालन गरी पहिरोबाट आएको लेदो, ढुंगा–माटो हटाई सफा गर्ने निर्णय गरेलगत्तै उपकरण लिएर उपमहानगरको टोदी त्यसक्षेत्रमा गएको थियो । स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले विपद् व्यवस्थापनको रकम निकासा गर्न पनि प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयमा अनुरोध गरेको छ ।
त्यसअवधिको कामको विवरण र बिल भरपाई लगायतका कागजातसहित प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा रकम निकासाका लागि अनुरोध गर्ने निर्णय भएको वातावरण इन्जिनीयर योगेश चापागाइँले जानकारी दिए ।
बुटवल–३, ४ को ज्योतिनगर, लक्ष्मीनगर क्षेत्रमा पहिरोले थुपारेको लेदो, ढुंगा–माटोको गेग्रेटोलाई प्राविधिकको विशेष निगरानीमा हटाइने भएको छ । यसका लागि राष्ट्रपति चुरे संरक्षणसँग समन्वय गरिने भएको छ ।
बस्तीका धेरै घरमा क्षति पुर्याएको र लेदो, गेग्रेटो सहितको ढुंगा–माटो तत्काल नहटाए थप जोखिम बढाउने भन्दै उपमहानगरले राष्ट्रपति चुरे संरक्षणलाई यथाशीघ्र पहल थाल्न आग्रह गरेको छ ।
पहिरो गएको क्षेत्र, प्रभावित क्षेत्र र जोखिमका क्षेत्रमा विज्ञ र प्राविधिकको अध्ययनका आधारमा स्थानीय वडा विपद् व्यवस्थापन समिति र सुरक्षा निकायको निगरानीमा थुप्रिएको लेदो, ढुंगा, माटो लगायतका सामग्री हटाउने र व्यवस्थापन गरिने भएको छ । यो कामको आवश्यक सहयोग र स्वीकृतका लागि जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीमा अनुरोध गरिएको उपमहानगरले जनाएको छ ।