०८ साउन २०८३, शुक्रबार

दशैँसम्म एक करोड ४० लाख मानिसलाई कोरोनाविरुद्धको खोप : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

दशैँसम्म एक करोड ४० लाख मानिसलाई कोरोनाविरुद्धको खोप : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मिर्गौला र क्यान्सरजस्ता रोगहरूको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्ने बताएका छन् । 

बुधवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । 

नेपालमा प्रत्येक वर्ष ३ हजार मानिसको मिर्गौला ‘फेल’ भएको विवरण आइरहेको भन्दै उनले पाँच वटा मात्रै उपचार गर्ने अस्पताल भएकाले किड्नी ट्रान्सप्लान्ट गर्नका लागि पनि २ वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको बताए । 

उनले डायलसिस गर्नका लागि आवश्यकताअनुसारको सर्भिस सेन्टर नपुगेको जानकारी दिए । 

उनले जिल्लादेखि प्रदेशसम्म डायलसिस सेन्टर बनाउनुपर्ने र यसलाई सर्वसुलभ बनाउनु पर्ने बताए । 

‘सरकारी अस्पताललाई अब पनि सुधार गर्न नसके ठूलो दुर्घटना हुन्छ, त्यसैले हामीले ६ महिना–एक वर्षभित्रमा अप्रेशन गर्नका लागि दुई वर्ष कुर्नुपर्ने बाध्यता हटाउँछौँ,’ उनले भने, ‘आवश्यक संरचना थप्नेछौँ, ६ महिनाभित्र ट्रान्सप्लान्ट र डायलसिसमा ठूलो परिवर्तन हुनेछ ।’

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिलेसम्म नेपाललाई एक करोड ७७ लाख कोरोनाविरुद्धको खोप प्राप्त भएको बताए । उनले ३ करोड ५९ लाख खोप आउने प्रबन्ध मिलाएको र आउने क्रममा रहेको बताए । 

अहिलेसम्म ५६ लाख मानिसलाई पूर्ण खोप लगाइसकेको र ६२ लाख मानिसलाई पहिलो डोज लगाएको बताए । 

राज्यमन्त्री श्रेष्ठले जम्मा जनसंख्याको १८ प्रतिशत भन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाइसकेको उनको दाबी छ । 

उनले दशैँसम्म एक करोड ४० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने योजना रहेको बताउँदै दशैँसम्म पहिलो डोज लगाउनेको संख्या एक करोड पुर्‍याउने सरकारको लक्ष्य रहेको बताए । 

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिले स्वास्थ्यमा सबैभन्दा ठूलो खतरा बीमाबाट रहेको बताउँदै बीमा व्यवस्थित गर्न जरुरी रहेको बताए । उनले बीमा भएकाहरूले वर्षमा एकपटक स्वास्थ्य परीक्षण गरे स्वास्थ्य समस्या कम हुने बताए । उनले राज्यको पैसाको स्वास्थ्य क्षेत्रमा दुरुपयोग भएको भन्दै व्यवस्थापन गरेर अघि बढ्न जरुरी रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्