
गत आर्थिक वर्षको माघ ९ गतेदेखि हालसम्म प्रहरीले भारी मात्रामा सवारीसाधन बरामद गरी सवारी धनीलाई बुझाएको छ ।
चोरी निकासी गरी लुकाइछिपाइ राखेका मोटरसाइकलदेखि जीपसम्मका सवारी साधन बरामद गरी प्रहरीले सवारीधनीलाई बुझाएको हो ।
जिल्ला प्रहरी कार्यालयमा सरुवा भएर आएलगत्तै प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुकुमार थापाले १ वर्षे चोरीपैठारी नियन्त्रणका लागि कार्ययोजना बनाई काम शुरू गरेका थिए ।
वर्ष दिन नपुग्दै ८ महिनाको अवधिमा थापा नेतृत्वको टोलीले ठूलो सफलता प्राप्त गरेको छ । मोटरसाइल ३८ र १ जीप बरामद गरी १ करोड २० लाख मूल्य बराबरका सवारी साधन बरामद गरिएको छ ।
चोरी पैठारी गरिएकामध्ये १ जीप र ८ मोटरसाइकल कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय कोहलपुर पठाइएको छ ।
१२ चोरीका मोटरसाइल सम्बन्धित धनीलाई बुझाएको प्रहरीले बताएको छ । ४ मोटरसाइकल चोरी शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया चलिरहेको छ । १४ मोटरसाइलबारे प्रहरीले आन्तरिक अनुसन्धान जारी राखेको छ ।
भेरी करिडोर र मध्यपहाडी लोकमार्गको सडक जाजरकोट भएर जाने भएकाले चोरी पैठारी गरेर सवारीसाधन ल्याई लुकाउने क्रम बढेसँगै प्रहरीले निगरानी बढाएको थियो । सवारी चालक अनुमतिपत्र नभएका, मापदण्डविपरीत सवारी चलाउनेलाई समेत कारबाही गरिएको छ ।
सादा पोशाकमा प्रहरी परिचालन गरी जनताको जीउधनको सुरक्षामा विशेष ध्यान दिइएको प्रहरीले बताएको छ । संरक्षित जनावर रेडपाण्डा लगायतका जंगली जनावारको तस्करी गरी बिक्री वितरण गर्ने गिरोह विरुद्धमा प्रहरी आक्रमकरूपमा लागेको छ ।
लागूऔषध नियन्त्रणमा समेत प्रहरीको सक्रियता देखिएको छ । झुट्टा मुद्दा लगाउने, रकम असुल्नका लागि गरिने सबैखालका गलत क्रियाकलापप्रति समेत प्रहरी सचेत भएर लागेको थापाले बताए ।
गुनासो आउनेबित्तिकै प्रहरी परिचालन गरी गुनासो सम्बोधन भएको उनले बताए । छिमेकी जिल्लाका सुरक्षा अधिकारीसँग सहकार्य गरी बदमासी गर्नेविरुद्ध व्यापकरूपमा खटिएको प्रहरीको भनाइ छ ।