३१ जेठ २०८३, आइतबार

थप ४०० चार्जिङ स्टेसन बनाउँदै प्राधिकरण

असोज ९, २०७८
थप ४०० चार्जिङ स्टेसन बनाउँदै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले थप ५०० वटा चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ ।

स्टेसन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रवार सूचना सार्वजनिक गरेको छ । 

प्राधिकरणले राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल, रेस्टुरेन्ट एवं अन्य सार्वजनिक स्थलमा चार्जिङ स्टेसन निर्माण गर्न चाहनेलाई सम्पर्क गर्न आह्वान गरेको हो ।

स्टेसन निर्माण निजी तथा सार्वजनिक संस्थासँगको सहकार्यमा निर्माण गरिने प्राधिकरणले जनाएको छ । ५०० वटा चार्जर जडान गर्ने योजनासहित जग्गा प्राप्तिको सूचना सार्वजनिक गरिएको प्राधिकरणका चार्जिङ स्टेसन परियोजना प्रमुख सागर ज्ञवालीले जानकारी दिए ।

प्राधिकरणले देशका प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण कार्य शुरू गरेको छ । प्राधिकरणले विद्युतीय सवारी साधनलाई लक्षित गरी चार्जिङ स्टेसन निर्माण शुरू गरेको हो ।

चार्जिङ स्टेसन पूर्वपश्चिम राजमार्ग, पृथ्वी, सिद्धार्थ, बीपी र मदनभण्डारी लगायतका राजमार्गमा स्थापना गर्न लागिएको हो । स्टेसनहरू सय किलोमिटर दूरीको अन्तरमा निर्माण गरिने छ । ९ महिनाभित्र कार्य सम्पन्न भइसक्ने प्राधिकरणले जनाएको छ ।

प्रमुख ज्ञवालीले भने, ‘अबको ९ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता हो तर ६/७ महिनामै सक्ने योजनामा छौं ।’

उनका अनुसार विद्युतीय स्टेसनबाट कार आधा घण्टामा र बस १ घण्टामा पूर्ण रूपमा चार्ज हुनेछ । चार्जिङ स्टेसनमा २०० किलोवाटको ट्रान्सफरमर राखिने छ । पहिलो चरणमा ८२ स्थान सूचीकृत भएकोमा ३२ स्थानमा स्टेसन स्थापना गरिने प्राधिकरणले जनाएको छ । चार्जिङ स्टेसन निर्माणका लागि स्थान छनोट भइसकेको छ ।

चीनको जियाङ्सु वाङदाङ न्यून इनर्जी टेक्नोलोजी कम्पनीले चार्जिङ स्टेसन बनाउने जिम्मा पाएको छ । प्राधिकरणले ८ महिनाअघि कम्पनीसँग निर्माण सम्झौता गरेको थियो ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिन लागेको छ । एउटा चार्जिङ स्टेसन निर्माणमा करीब ८० लाख रुपैयाँ खर्च लाग्छ । ५० वटा स्टेसन निर्माणका लागत ४० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रमुख राजमार्ग तथा सवारीको चाप हेरेर एकै स्थानमा २ वटासम्म चार्जिङ स्टेसन स्थापना गरिने जनाइएको छ ।

हरेक प्रदेशमा ५ वटा स्टेसन रहनेछन् । काठमाडौं उपत्यकामा १० वटा र बाँकी ५ वटा अन्य आवश्यक स्थानमा राखिने जनाइएको छ । प्राधिकरणका अनुसार चार्जिङ स्टेसन सञ्चालनमा आएपछि थप ७ हजार किलोवाट विद्युत् खपत हुनेछ ।

चार्जिङ स्टेसन सुविधा सम्पन्न हुनेछन् । मोबाइल एप्सबाट चार्ज गर्ने समय र स्थान बुक गर्नुका साथै अनलाइन भुक्तानी गर्न सकिने छ । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ । स्टेसनमा यात्रुहरू ‘फ्रेस’ हुन खेल तथा खाना, खाजाका लागि रेस्टुरेन्टको व्यवस्था हुनेछ ।

खाजा, खानाको समयमा चार्ज गर्न सकिने भएकाले यात्राको समय खर्च हुँदैन । एकै पटकमा ३ वटा सवारीसाधन चार्ज गर्न मिल्ने छ ।

हाल सञ्चालनमा आएका निजीस्तरका विद्युतीय बसहरूले आ–आफ्नै ग्यारेजमा चार्ज गर्दै आएका छन् । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्