
लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र खनाललाई हटाउने निर्णय गरेको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले डा. इन्द्र ढकाललाई निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट नियुक्त गर्ने निर्णय गरेको छ ।
डा. खनाललाई कोभिड अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको संयोजक बनाइएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए ।
यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले जाँदाजाँदै साउन २७ गते डा. खनाललाई मेसुबाट हटाउने निर्णय गरेको थियो तर मुख्यसचिवले निर्णय माइन्युट गरेका थिएनन् ।
बैठकले प्रदेशमा कोभिड–१९ महामारीको व्यवस्थापन गर्न कोभिड विशेष अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
बाँके जिल्लाको बैजनाथ गाउँपालिका, रुकुम पूर्वको भूमे तथा पुथा उत्तरगंगा गाउँपालिकाका वडाहरूलाई थपघट, समायोजन गर्ने तथा पाल्पा जिल्ला बगनासकाली गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने सम्बन्धी प्राप्त प्रस्ताव संघीय सरकारसमक्ष पठाउने निर्णय बैठकले गरेको प्रवक्ता खड्काले बताए ।