
जीपले ठक्कर दिँदा शुक्रबार बिहान दुई छात्राको मृत्यु भएको छ । अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको थारमारेबाट श्रीनगरतर्फ आइरहेको लु२च ५७०१ नम्बरको डबल क्याप जीपले शारदा नगरपालिका–६ बांगे सल्लाको नजिकै सडक छेउमा बसिरहेका पाँच छात्रालाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएकी शारदा नगरपालिका–६ बरला निवासी १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी १८ वर्षीया सुनिता नेपालीलाई उपचारका लागि नेपालगन्ज लाँदै गर्दा दाङ जिल्लाको राम्रीमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते रेखा र सुनितालाई छाती तथा मुखमा गहिरो चोट लागेको र उनीहरूको अवस्था जटिल भएकाले प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकामा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते शारदा नगरपालिका–६ बरालाका १८ वर्षीया मीना परियार, १६ वर्षीया सुशीला नेपाली र १८ वर्षीया दीपा बुढाथोकीलाई पनि थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।
शिवजन माविमा कक्षा १२ मा अध्ययनरत छात्राहरु सडकको छेउमा बसिरहेको बेला तीव्र गतिमा रहेको जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायव निरीक्षक लीलाराम चन्दले जानकारी दिए ।
जीपमा सवार चार जना भने सकुशल छन् ।
जीप सडकभन्दा १० मिटर तल खसेको थियो । दुर्घटनापछि फरार जीप चालक शारदा नगरपालिका–४ निवासी टङ्कबहादुर वलीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।