
ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरामा ७१ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
राष्ट्रिय परोपकार महासंघ नेपाल, नागरिक मिलन केन्द्र एकाइ समितिको आयोजनामा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
सिद्धेश्वर मन्दिर सभाहलमा आयोजित कार्यक्रममा फूलको गुच्छा र न्यानो ज्याकेटद्वारा सम्मान गरिएको राष्ट्रिय परोपकार महासंघ नेपाल वडा एकाइ १५ का कोषाध्यक्ष रामबहादुर बस्नेतले जानकारी दिए ।
कार्यक्रमका राष्ट्रिय परोपकार महासंघ केन्द्रीय अध्यक्ष एवं भागवत भाष्कर पण्डित कमलनयन गौतमले आमाबुवा नै ईश्वरको रूप रहेको बताए ।
घरमा रहेका बयोवृद्ध साक्षात देवतातुुल्य रहेका जन्मदाता बुवाआमाको सम्मान र सेवा गरे देवता खोज्न कतै जानु नपर्ने उनको भनाइ छ । पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष्य प्रकाश पौडेलले ज्येष्ठ नागरिकमैत्री वडा बनाउन प्रयासरत रहेको जानकारी दिए ।
कास्की जिल्ला समन्वय समिति सदस्य तोरण बनियाले वडाले ज्येष्ठ नागरिकको समस्यालाई मध्यनजर गर्दै छिट्टै घर घरमै पुगेर वृद्धभत्ता दिने व्यवस्था गर्न पहल गर्नुपर्नेमा जोड दिए । संगम बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा राष्ट्रिय परोपकार महासंघ नेपाल वडा एकाइ १५ का सल्लाकार क्याप्टेन हरिकृष्ण कुँवर लगायतले ज्येष्ठ नागरिकलाई मिठो बोली र सम्मान नै सबैभन्दा ठूलो सम्मान र उपहार हुने बताए ।