०५ असार २०८३, शुक्रबार

चीनमा किन बिजनेस ड्रिंकिङका विषयमा उठ्यो बहस ?

असोज १८, २०७८
चीनमा किन बिजनेस ड्रिंकिङका विषयमा उठ्यो बहस ?

चीनको विशाल प्रविधि कम्पनी अलीबाबामा एक हाईप्रोफाइल कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि चीनको सामाजिक सञ्जालमा बिजनेस ड्रिंकिङका विषयमा बहस हुन थालेको छ ।

बिजनेस ड्रिंकिङ भन्नाले कार्यालयमा रक्सी पिउनका लागि दबाब दिइने काम हो । 

कर्पोरेट दुर्व्यवहारका विषयमा चिनियाँ जनतामा आक्रोशको स्थिति छ । कार्यालयमा रक्सी पिउने पुरानो परम्परालाई सधैंका लागि छोड्ने त भनी बहस चलेको हो । 

लगभग १५ दिनको अन्तरमा मिङ्शी (नाम परिवर्तन)ले साथीहरूसँग जाँडपार्टीमा सहभागी हुनुपर्छ । तर उनलाई यसो गर्न पटक्कै मन लाग्दैन । 

कार्यालयको नजिक पबमा गएर रक्सीको एक पेग मात्र लिने कुरा हैन यो । 

सामान्यतया कर्मचारीले ग्राहकलाई हेरेर नक्कली मुस्कान छोड्नुपर्ने हुन्छ र औपचारिक टोस्टिङ अर्थात् रक्सीको गिलास जुधाएर शिष्टाचार प्रदर्शन गर्नुपर्ने हुन्छ । मिङ्शीलाई यो असहज लाग्छ । 

२६ वर्षीया मिङ्शी क्वाङ्चोमा पब्लिक रिलेसन्स कन्सल्टेन्ट हुन् । उनले बीबीसीलाई बताइन्, ‘रक्सी पिउँदै जाँदा परिस्थिपत मेरो काबुबाहिर जाला भनी मलाई डर लाग्छ । तर म ग्लास राम्ररी समात्न जान्दछु ।’

‘रक्सी पिएको बेलामा मानिसहरू अशोभनीय यौन चुट्किला सुनाइरहेका हुन्छन् । म त्यसलाई पचाएर हाँस्न बाध्य छु ।’

चीनका अन्य महिला कर्मचारीको अनुभव पनि मिङ्शीको जस्तै छ । उनीहरूलाई यस्तो इभेन्टमा सहभागी हुने दबाब छ ।

चीनमा क्वाङ्सी अर्थात् व्यक्तिगत सम्बन्ध बनाउने संस्कृति छ । व्यापार बढाउन तथा माथिल्ला कर्मचारीको सम्मान हासिल गर्न यो आवश्यक मानिन्छ । 

तर अलीबाबाका एक वरिष्ठ व्यवस्थापकमाथि बलात्कारको आरोपपछि चीनमा कर्पोरेट क्षेत्रमा रक्सी पिउने परम्परामा प्रश्न उठेको छ । 

एक महिला कर्मचारीले ११ पृष्ठको पत्र लेखेर आफूमाथि बलात्कार गरिएको आरोप लगाएपछि चीनको सामाजिक सञ्जाल वीबोमा त्यो भाइरल बनेको थियो । उनका अनुसार, कामको सिलसिलामा यात्रा गर्ने क्रममा उनी रक्सी पिएर बेहोश भएको बेलामा उनीमाथि बलात्कार गरिएको थियो । 

बिजनेस डिनरमा आफूभन्दा वरिष्ठ कर्मचारीहरूले आफूलाई बेस्सरी रक्सी पिउन आदेश दिएको उनी बताउँछिन् । 

पछि होटलको कोठामा आँखा खुल्दा उनी नग्न अवस्थामा थिइन् । आफूमाथि के भएको हो भन्ने उनलाई थाहा भएन । 

सीसीटीभी क्यामराको फूटेज हेर्दा महिला कर्मचारीले त्यो राति उनको म्यानेजर कोठमा चारपटक आएको देखिन् । 

अलीबाबाले आरोपित व्यवस्थापकलाई जागिरबाट निकालेको छ र कहिले पनि जागरिमा नराख्ने भनेको छ । 

तर चीनमा अभियोजकहरूले मुद्दा खारेज गरेका छन् । उक्त व्यक्तिले गरेको अश्लीलता अपराध नभएको उनीहरूको तर्क छ । 

उक्त व्यक्तिलाई सजायका रूपमा १५ दिन हिरासतमा राखिने प्रहरीको भनाइ छ । घटनाको अनुसन्धान बन्द गरिएको छ । 

तर कार्यालयमा गरिने यौन उत्पीडनलाई सम्बोधन नगरिएको भन्दै सामाजिक सञ्जालमा बहस उठाइएको छ । कर्मचारीहरूलाई रक्सी पिउन बाध्य बनाइने विषाक्त संस्कृति पनि प्रश्नको घेरामा छ । 

चीनका व्यापारिक शिष्टता कायम राख्नका लागि रक्सी पिउने परम्परा अन्य पूर्वी एसियाली देशमा जस्तै छ । जापानमा नोमीकाई र कोरियामा होएसिकलाई सम्बन्ध बलियो बनाउनका लागि उपयोग गरिन्छ । यस्ता कार्यक्रममा कर्मचारीहरू जमघट गरेर रक्सी पिउँछन् असन सम्बन्ध प्रगाढ भएको ठान्छन् । 

चीनमा रक्सीसँगै भव्य डिनर पनि आयोजन गरिन्छ । त्यसक्रममा चीनको चर्चित रक्सी बाइजु अत्यधिक उपयोग गरिन्छ । बाइजुमा ६० प्रतिशतसम्म अल्कोहल हुन्छ । 

कनिष्ठ कर्मचारीहरूले वरिष्ठलाई सम्मान दिनका लागि पेग लगाउँछन् । अनि व्यापारीहरू आफ्ना क्लाइन्टलाई प्रभावित पार्नका लागि पनि त्यसै गर्छन् । 

तर यसको आडमा यौन शोषण गर्न थालिएपछि यसमा प्रश्न उठेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्