११ असार २०८३, बिहीबार

संसारभरि सहजै सामान पाइन छाडे, के हो समस्या ?

असोज १८, २०७८
संसारभरि सहजै सामान पाइन छाडे, के हो समस्या ?

अहिले विश्वव्यापी आपूर्ति शृंखला पहिलेको जस्तो गरी काम गरिरहेको छैन । बच्चाको खेलौनादेखि सेमीकन्डक्टरसम्ममा माग र आपूर्तिबीच ठूलो अन्तर छ ।

अमेरिकामा अनेकौं मालवाहक जहाजहरू कैयौं दिनमा समुद्रमा कुरेर बसिरहेका छन् । सामानको माग अत्यधिक छ तर सामान थुपार्न बन्दरगाहमा स्थानको अभाव छ ।

वाल स्ट्रीट जर्नलको एक समाचारअनुसार, ‘नाइकीसँग बेच्नका लागि पर्याप्त जुत्ता छैन । कृत्रिम क्रिसमस ट्रीको दाममा २५ प्रतिशतसम्म वृद्धि भएको छ ।’

सामानको अभावको सबभन्दा ठूलो कारण कोभिड १९ हो । 

कोभिडका कारण माग बढेको छ तर मजदूरहरूको कमी छ । कैयौं कारखाना अझै बन्द छन् । 

तर समस्याको अर्को कारण शिपिङ अर्थात् जहाजमा मालढुवानी हो । 

इन्टरनेसनल मेरिटाइम अर्गनाइजेसनका अनुसार, संसारभरिको ९० प्रतिशत सामान समुद्री मार्ग हुँदै एक देशबाट अर्को देशमा पुग्छ । 

यो वर्ष समुद्री मार्गमा अनेकौं समस्या देखिए । स्वेज नहर हुँदै मालवाहक जहाजहरू एसियाबाट छिटो युरोप पुग्छन् । त्यहाँ एक विशाल जहाज फस्दा धेरै समस्या आइलागे । 

एभरगिभन नामक उक्त जहाज र कोभिड महामारीका कारण जहाजहरूले लामो र पहिले नहिँडेको बाटो जानुपरेको छ । 

गेम बनाउने कम्पनी ह्याप्पी पजल गेमिङका सीईओ केभिन उको भन्छन्, ‘हामीले चीनबाट आउने कन्टेनरका लागि २७ सय पाउन्डभन्दा बढी रकम तिर्नुपरेको थिएन । अहिले त्यही एक कन्टेनरका लागि १५ हजार पाउन्डको बिल आयो । सामानको भाउ बेस्सरी बढेको छ र अब काम गर्न समस्या आइरहेको छ ।’

सामानको भाउ बढेकाले अनेकौं समस्या आइरहेका छन् । 

आर्किटेक्ट विल्फ मेलिन भन्छन्, ‘काठका सामानको भाउ निकै बढेको छ । आपूर्ति शृंखला पहिलेको जस्तो विश्वसनीय छैन । डेलिभरी गर्न चालकहरू उपलब्ध छैनन् । सबै कुरा गाह्रो हुन थालेको छ । 

बेलायत र अमेरिका सहित कैयौं देशमा मजदूरहरूको अभाव छ । 

फोर्ब्सले गत जुलाई ८ मा प्रकाशन गरेको रिपोर्टमा उल्लेख भएअनुसार, अमेरिकी कम्पनीहरूलाई मजदूर पाउनै धौधौ परेको छ । 

कर्मचारीको अभावकै कारण बन्दरगाहमा जहाज अड्याउन ठाउँ पाइएको छैन । 

यस समस्याको अर्को पनि कारण छ । त्यो हो राजनीति । अमेरिकाका राष्ट्रपति जो बाइडन चीनमाथिको निर्भरता घटाएर अमेरिकी आपूर्ति शृंखलालाई फेरि बलियो बनाउन चाहन्छन् । 

बाइडनले गत फेब्रुअरी महिनामा भनेका थिए, ‘हामी राष्ट्रिय विपतको समयमा आफ्ना मानिसको रक्षा र आवश्यकताका लागि अर्को देशमा निर्भरता चाहँदैनौं । अझ हाम्रो मूल्यमान्यता र आवश्यकतालाई नबुझ्ने देशप्रति त हामी झनै निर्भर हुन चाहँदैनौं ।’

बाइडन अमेरिकीहरूको चिन्ता गर्दैछन् तर विश्वव्यापी आपूर्तिमा आएको समस्याले उनको स्वालम्बी नीतिलाई नै असर पार्दैछ । 

आपूर्ति शृंखला किन यति जटिल छ भनी बुझिराखौं ।

विश्वव्यापीकरणसँगै उत्पादनको एक नयाँ अवधारणा आयो जसलाई जस्ट इन टाइम भनिन्छ । 

यस प्रणालीअन्तर्गत कम्पनीहरूमा वस्तुको आपूर्ति आवश्कयता पर्दा मात्र गरिनछ । यसले पैसा जोगाउन सहायता गर्छ । 

यो निकै राम्रो व्यवस्था हो तर समयमा डेलिभरी भए मात्र यो प्रभावकारी हुन्छ । 

उदाहरणका लागि, गाडी उद्योगले सेमीकन्डक्टर चिप उपयोग गर्छ । 

गाडी र बिजुलीका अन्य उपकरणका लागि यी चिपहरू आवश्यक हुन्छन् । 

तर ल्यापटप र बिजुलीका सामानको बिक्री बढेका कारण चिपको माग बढेको छ र अहिले बजारमा पर्याप्त चिप उपलब्ध छैन । 

यसले गर्दा टोयोटाको उत्पादन ४० प्रतिशतसम्म घटेको छ । 

गाडी बनाउने कम्पनी भक्सहलका एमडी पल विलकक्स भन्छन्, ‘यसको असर पूरै इन्डस्ट्रीलाई परेको छ र उत्पादन क्षमतामा पनि असर परेको छ ।’

चीन र अमेरिकाको बन्दरगाह निकै टाढा छन् तर ती हाम्रो जीवनसँग प्रत्यक्ष जोडिएका छन् भन्ने कुरा यसबाट थाहा हुन्छ । 

आपूर्ति शृंखलाको समस्याले संसार कसरी चलिरहेको छ भन्ने पनि संकेत दिन्छ । 

ग्लोबलाइजेसनका कारण सामान सस्तो भएका छन् र सहजै उपलब्ध हुन थालेका छन् । पर्वहरूमा सामान उपलब्ध हुन्छ कि हुँदैन वा गाडीहरू समयमा बन्छन् कि बन्दैनन् भन्ने कुरामा मात्र यो सीमित छैन । 

हामी कति मात्रामा सामान बनाइरहेका र उपयोग गरिरहेका छौं अनि कसरी र कहाँ बनाइरहेका छौं भन्ने विषयमा यसले गम्भीर प्रश्न उठाइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्