
नेपालीको प्रमुख चाड बडादशैंको मुखमा ग्राहकहरू भारतीय बजार जाँदा विराटनगरका व्यवसायी हैरान भएका छन् ।
कोरोना भाइरस संक्रमणको महामारी रोकथाम र नियन्त्रणका लागि भन्दै १९ महिना अघिदेखि बन्द रहेको रानी–जोगबनी नाका शनिवारदेखि खुलेसँगै ग्राहक भारतीय बजार जान थालेका छन् ।
नाका खुला भएपछि विराटनगरको व्यापार घट्ने भन्दै व्यापारी चिन्तित भएका छन् ।
असोज ११ गते बसेको मन्त्रिपरिषद् बैठकले नाका खोल्ने निर्णय गरेको भए पनि जिल्ला प्रशासन कार्यालय मोरङले नाका खुला गर्न निर्देशन दिएको थिएन । सर्वसाधारणको आवतजावत केही समय अघिदेखि नै भइरहेको भए पनि सवारीसाधन आवतजावत पूर्णरूपमा बन्द थियो ।
शनिवारबाट सबै प्रकारको आवतजावत खुला भएको छ । नाका खुलेपछि नेपाल र भारतबाट दुईपांग्रेदेखि चारपांग्रे साना र ठूला सवारीसाधन आउजाउ गर्न थालेका छन् । पूर्णरूपमा खुला गरिएको नाकाले विराटनगरको व्यापारमा ठूलो असर गरेको विराटनगरका व्यापारीहरू बताउँछन् ।
राज्यले भन्सारको विषयमा नसोच्दा सीमा क्षेत्रका नेपाली बजारको अवस्था दयनीय रहेको विराट व्यापार संघका अध्यक्ष सुजन थापाले बताए । व्यापारीले कर तिरिरहे पनि राज्यले ध्यान नदिँदा व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको उनले बताए ।
नाका खुला भएसँगै जोगबनीमा घरायसी सामग्री लिनको समेत चहलपहल बढेको छ । दशैं, तिहार, छठ लगायतका पर्वमा जोगबनी नाका हुँदै धेरै घरायसी सामग्री नेपाल भित्रिने गरेको छ ।
विराटनगर, इटहरी, धरान लगायतका बजार सुनसान बनेका स्थानीय व्यापारी बताउँछन् । उपभोक्तालाई सचेत नगराउँदा चाडपर्वको समयमा विराटनगर ‘बेहुली अन्माएको घर जस्तो’ हुने गरेको पब्लिक फारमका अध्यक्ष उत्तम ढुंगेलले बताए ।

जोगबनीमा उपभोक्ता ठगिने गरे पनि सचेतना नहुँदा उतैतिर जाने गरेका उनले बताए । चिनीमा छुट दिने गरेका कारण नेपालीहरू भारतीय बजारमा जाने गरेका छन् । नेपाली बजारमा प्रतिकिलो ९०–९५ रुपैयाँ रहेको चिनी जोगबनीमा ६० रुपैयाँ प्रतिकिलो छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) काषिराज दाहालले नीति परिवर्तन नभएसम्म नाकाका बजारमा सुनसान हुने गरेको बताए । उनले आफू व्यापारी व्यवसायीको हकहितमा लागिपर्ने बताए ।
कोरानाका कारण ठप्प भएको व्यवसाय तंग्रिन नपाउँदै धरापमा परेको व्यवसायीको गुनासो छ ।