
भन्सार सहुलियतको चिनी नआएपछि बागलुङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्न सकेको छैन । दशैंको मुखैमा आइपुग्दा पसल खुल्ने/नखुल्ने अनिश्चित छ ।
चिनी नहुँदा पसल सञ्चालनमा ढिलाइ भएको साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङ कार्यालयले जनाएको छ । गत वर्ष पनि कोभिड–१९ का कारण पसल खुल्न सकेको थिएन ।
कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले केन्द्रबाट बिक्री मूल्य समेत तोकिए पनि चिनी भने नआएको बताए । ‘भारतबाट भन्सार छुटमा आउनुपर्ने चिनी नै नआएको भन्ने बुझिएको छ,’ उनले भने, ‘चिनी आउँदासाथ सुपथ पसल खोल्ने हाम्रो तयारी छ ।’
दशैंअघि पसल खोल्न अब असम्भव देखिन्छ । बेलैमा चिनी आए तिहार र छठलाई लक्षित गरेर पसल खोल्ने योजना कार्यालयले बनाएको छ । सहज स्थितिमा दशैंको नवदुर्गा लाग्नुअगावैदेखि पसल सञ्चालनमा आइसक्थ्यो ।
चाडपर्वका बेला उपभोक्तालाई थोरै भएपछि सहुलियत दिने उद्देश्यले कर्पोरेसनले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । बजार भाउ चर्किएका बेला सस्तो पसलले कम मूल्यमा चिनी र नून बेच्ने गर्छ ।
कार्यालय प्रमुख श्रेष्ठले काठमाडौंबाहेक बाहिर रहेका संस्थानका कार्यालयमा चिनी नभएको बताए ।
‘वीरगञ्जमा रहेको संस्थानको डिपोमा सोध्दा पनि चिनी आएको छैन भन्ने जवाफ आयो,’ उनले भने, ‘मन्त्रालय तहबाटै पक्रिया लम्बिए जस्तो देखिन्छ ।’
चाडपर्वमा अभाव हुन नदिन कर्पोरेसनले गत वैशाखमै भन्सार छुटमा ५० हजार मेट्रिक टन चिनी ल्याउन सरकारसँग माग गरेको थियो ।
अर्थ मन्त्रालयको स्वीकृतिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयात गर्छ । चिनी खरिदको प्रक्रिया लम्बिँदा त्यसको प्रत्यक्ष मार उपभोक्तामा परेको छ । पसल खुले सस्तोमा चिनी/नून किन्न पाइने आशमा उपभोक्ता छन् ।
पसल सञ्चालनमा आउँदा दैनिक सयौंको लाम लाग्छ । भीड व्यवस्थापन र सेवा प्रवाहमा कर्मचारीलाई नै हम्मेहम्मेको स्थिति बन्छ । पसलबाट करोडौंको चिनी र नून बिक्री हुन्छ । कर्पोरेसनबाहेक खाद्य व्यवस्था तथा व्यापार कम्पनी, नेसनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दूग्ध विकास संस्थानले पनि विभिन्न ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्छन् ।
दशैंअघि खुल्ने त्यस्ता पसलले छठसम्म उपभोक्तालाई सेवा दिन्छन् । – रामबहादुर थापा/रासस