
‘पहिले देश अनि मात्र विदेश’ भन्ने नारासहित काठमाडौंको सोह्रखुट्टेमा रहेको स्नोवी ड्रिम वर्ल्ड होलिडेजले उपत्यकाबाहिर घुम्नका लागि विभिन्न अफरहरू सार्वजनिक गरेको छ ।
कोरोना महामारी विस्तारै कम हुँदै जाँदा पुनः पर्यटन क्षेत्र चलायमान बन्दै गरेको अवस्थामा कम्पनीले घुमफिरका विभिन्न प्याकेज सार्वजनिक गरेको हो ।
कम्पनीले मुक्तिनाथ मन्दिर, पोखरा, लुम्बिनी, चितवनलगायत विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रहरूमा जानका लागि विभिन्न किसिमका अफर सार्वजनिक गरेको छ ।
यस कम्पनीले मात्र हैन अहिले प्रायः कम्पनीले छुट्टाछुट्टै दररेटमा घुमफिरको प्याकेज सार्वजनिक गरिरहेका छन् ।
नेपालीहरूको महान चाड दशैं नजिकिँदै गर्दा पर्यटन क्षेत्रमा काम गर्दै आएका यस्ता कम्पनीले विशेष किसिमका अफरहरू सार्वजनिक गर्ने होडबाजी नै चलाएका छन् ।
कोरोना महामारीले करीब २ वर्ष थलिएको पर्यटन व्यवसाय अब भने बिस्तारै चलायमान हुने दिशामा छ ।
मुलुकमा कोरोना भाइरसविरुद्धको खोपको उपलब्धताले पनि अहिले पर्यटनको माहोल शुरू हुन थालेको पर्यटन व्यवसायीहरू बताउँछन् ।
उसो त असोज महिनादेखि पर्यटनका लागि मौसम अनुकूल हुन्छ ।
कोभिडले अघिल्ला वर्षहरूमा घरभित्रै बसिरहेका नेपालीहरू अब भने मौसम अनुकूलता र नजिकिँदो दशैंतिहारका कारण घुमफिरका लागि तयार भएका छन् ।
कुन ट्राभल एजेन्सीमा कस्तो अफर ?
काठमाडौंमा रहेको शुभयात्रा एडभेन्चर्स एन्ड टुर्सले दशैंलक्षित विशेष अफर सार्वजनिक गरेको छ ।
कम्पनीले विशेष गरी मुक्तिनाथ, अप्पर मुस्ताङ, रारा, कालिञ्चोक, हलेसी महादेव, चितवन, लुम्बिनी तथा पाल्पा भ्रमणमा विभिन्न शुल्कहरू सार्वजनिक गरेको छ । जुन सामान्य अवस्थामा भन्दा कम्तिमा पनि १ हजारसम्मले सहुलियत पर्ने कम्पनीको दावी छ ।
यस्तै गौतम होलिडेजले दशैंतिहार लक्षित एक सयभन्दा बढी गन्तव्यहरूमा जानका लागि विशेष प्याकेज सार्वजनिक गरेको छ ।
मुक्तिनाथ, जोमसोम, कालिञ्चोक, बन्दिपुर लगायतका ठाउँहरू घुम्न जानका लागि सस्तो दररेट कायम गरिएको कम्पनीका सञ्चालक उत्तम गौतमले जानकारी दिए ।
‘कोरोना महामारीका कारण घरभित्रै गुम्सिएका नेपाली पर्यटकहरू कोरोना खोप लगाइसकेपछि भने घुमफिरका लागि उत्साहित छन्, उहाँहरूको सहजताका लागि दशैं विषेश सस्तो अफर तथा प्याकेज सार्वजनिक गरेका हौं,’ लोकान्तरसँग उनले भने ।
उनले कोरोना महामारीले २ वर्ष थला पारेको पर्यटन व्यवसाय अब भने चलायमान हुन थालेको समेत सुनाए ।
यस्तै मुक्तिनाथ, अप्पर मुस्ताङ, रारा, कालिञ्चोक, हलेसी महादेव लगायतका स्थानमा जानका लागि भक्तपुर होलिडेजले पनि अफरहरू सार्वजनिक गरेको छ । विभिन्न मितिमा घुम्न जानका लागि अफर तयार गरिएको कम्पनीले जनाएको छ ।
कोरोना खोप लगाइसकेको अवस्थामा घुमफिरको माहोल सिर्जना भइरहेको भन्दै दशैंलक्षित अफर सार्वजनिक गरेको भक्तपुर होलिडेजले जनाएको छ ।
कम्पनीका कर्मचारीले भने, ‘पैसाको हिसाबमा पनि ४ दिनको प्याकेजमा हजार रुपैयाँ कम हुनु राम्रो कुरा हो । घुमफिरमा निस्कनेहरूलाई प्याकेज वा अफरमार्फत घुम्न आकर्षित गराउनका लागि पनि हामीले आकर्षक प्याकेज ल्याएका हौँ ।’
कस्तो छ ट्रेन्ड ?
अहिले चाडपर्वको आसपासमा घुम्न जानेहरू धेरै रहेका छन् । ट्राभल एजेन्सीहरूलाई पनि अहिले दौडधुप नै रहेको छ ।
‘शनिवार मात्रै पनि ५ वटा जीपमा पर्यटकहरूलाई विभिन्न ठाउँमा घुम्न पठायौँ,’ भक्तपुर होलिडेजका एक कर्मचारीले भने ।
अहिले विशेष गरी मुस्ताङ, कालिञ्चोक, तिलिचो तथा रारा जानेहरूको बढी भीड छ ।
सामान्य अवस्थामा भन्दा अहिले अफरहरू सार्वजनिक भइरहँदा बूकिङ बढिरहेको छ ।
यसरी घुम्न जाने र घुम्न जान चाहनेहरूमा बढीजसो परिवार नै रहेका छन् ।
‘कोभिडले उकुसमुकुस भइरहेको अवस्थामा घुम्न जाने अफर आउन थालेपछि सपरिवार नै घुम्न निस्कने नयाँ ट्रेन्ड शुरू भएको छ,’ गौतम होलिडेजका सञ्चालक उत्तम गौतम बताउँछन् ।
उनका अनुसार विगतमा प्रायः साथीभाइहरू घुम्न जाने ट्रेन्डको विकास भएको थियो । ‘कोरोनापछि भने परिवारलाई नै घुमाउने ट्रेन्डको विकास भइरहेको छ, यसले परिवारमा समेत ऊर्जा तथा उमंग दिन्छ,’ सञ्चालक गौतमले भने ।
‘अफरहरू आउनु सकारात्मक’
नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले अहिले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ट्राभल एजेन्सीहरूले विभिन्न किसिमको अफर सार्वजनिक गर्नु सकारात्मक भएको बताए ।
उनले पर्यटन उद्योगहरूले विभिन्न अफरहरू सार्वजनिक गर्दा आन्तरिक पर्यटकहरूलाई राहत मिल्ने र घुमफिरका लागि उत्साह जाग्ने अवस्था सिर्जना हुने बताए ।
तर सरकारले भने अझै पनि मुलुकमा पर्यटन व्यवसाय प्रवद्र्धनका लागि नीति नबनाएको भन्दै अध्यक्ष गुरागाईंले गुनासो गरे ।