
डोटी जिल्लामा बर्सेनि कुष्ठरोगीको संख्या थपिँदै जान थालेको छ ।
जिल्लाभरिमा थप ५ जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
डोटीमा गत वर्ष ७ कुष्ठरोगी फेला परेका थिए भने यो वर्ष थप ५ जनामा कुष्ठरोग देखिएपछि अहिले जिल्लामा कुष्ठ रोगीको संख्या १२ रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष २०७७/७८ को शुरूमै जिल्लामा ५ नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अधिकृत महेश बोहराले बताए । उनले भने, ‘जिल्लामा बर्सेनि कुष्ठरोगीको संख्या थपिँदै गएको छ । कुष्ठरोग अन्त्य गर्नमा समस्यासहित चुनौती थपिएको छ ।’
स्वास्थ्य कार्यालयका अनुसार नयाँ फेला परेका कुष्ठरोगीमा जोरायल गाउँपालिकामा १, शिखर नगरपालिका १, दिपायल सिलगढी नगरपालिकामा ३ छन् । जिल्लामा कुष्ठरोग सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरिँदै आए पनि गाउँघरमा कुष्ठरोगी अझै लुकीछिपी बस्ने गरेका कारण यहाँको कुष्ठरोग अन्त हुन नसकेको चिकित्सक बताउँछन् ।
स्वास्थ्यका अनुसार जिल्लामा २ वर्षयतादेखि कुष्ठरोगीको संख्या थपिँदै गएको पाइएको छ । गत वर्ष जिल्लाका केआईसिंह गाउँपालिकामा १, शिखर नगरपालिकामा २, पूर्वीचौकी गाउँपालिकामा १, दिपायल सिलगढी नगरपालिकामा २ र बडिकेदार गाउँपालिकामा १ कुष्ठरोगका बिरामी फेला परेका थिए ।
जिल्लाका विभिन्न स्थानमा चर्मरोग सम्बन्धी विभिन्न शिविर सञ्चालन गरेका कारण अहिले कुष्ठरोगी फेला पर्न थालेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धवसिंह ठगुन्नाले जानकारी दिए ।
कुष्ठरोगीको संख्या थपिँदै जान थालेपछि स्वास्थ्य कार्यालयले चालू आर्थिक वर्षमा जिल्लाका ९ वटै स्थानीय तहमा बिरामी पहिचानका लागि ‘स्क्रिनिङ क्याम्प’ गर्ने योजना रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिए ।
नेपाल सरकारले कुष्ठरोगमुक्त नेपालको परिकल्पना गर्दै सन् २०२० मा कुष्ठरोग प्रकोप दर प्रति १० हजारमा एकभन्दा कम गर्ने लक्ष्य राखेपनि डोटीमा कुष्ठरोगीको संख्या थपिँदै जान थालेपछि लक्ष्य चुनौतीका रूपमा लिइन थालिएको छ । बिरामीको स–सम्मान स्वास्थ्य उपचार गर्ने वातावरण सिर्जनाका लागि चेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए ।