
रुपन्देहीका उद्योगीलाई चुनाव लागेको छ ।
रुपन्देही उद्योग संघको आगामी नेतृत्वका लागि माधवप्रसाद पौडेलको नेतृत्वमा साझा प्यानल तयार भएको छ ।
रुपन्देही उद्योग संघको ४३औं साधारणसभा तथा २२औं अधिवेशन असोज २३ गते हुन गइरहेको छ । हाल वरिष्ठ उपाध्यक्ष रहेका पौडेलको नेतृत्वमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट उद्योगीले साझा प्यानल तयार गरेका छन् ।
संघको आगामी कार्यकालका लागि अध्यक्षमा पौडेलसहित वरिष्ठ उपाध्यक्षमा दिलिप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्णप्रसाद पराजुली र द्वितीय उपाध्यक्षमा जिवकान्त काफ्लेलाई प्यानलमा राखिएको छ । सापकोटा हाल प्रथम उपाध्यक्ष हुन् भने पराजुली द्वितीय उपाध्यक्ष र काफ्ले महासचिव हुन् ।
संघको महासचिवमा हालका कोषाध्यक्ष हरिबहादुर खत्री र कोषाध्यक्षमा हालका सचिव हिरामणि भट्टराईलाई साझा उम्मेदवार बनाइने भएको छ ।
संघको सचिवमा हाल कार्यसमिति सदस्य रहेका बसन्त ढकाल र महिला सदस्यमा मञ्जु भुसाललाई प्रस्ताव गरिएको छ । सहकोषाध्यक्षमा सुरेन्द्र ज्ञवालीलाई प्रस्ताव गरिएको छ ।
संघको आगामी नेतृत्व साझा बनाउनका लागि पहल गर्न पूर्व अध्यक्ष एजाज आलम, बोनिन पिया र निवर्तमान अध्यक्ष गणेश अधिकारीलाई जिम्मेवारी दिइएको संघका अध्यक्ष बाबुराम बोहोराले बताए ।
साझा उम्मेदवारको रूपमा प्रस्तावित पौडेलले आफूले सबै उद्योगी व्यवसायीलाई समेटेर अगाडि बढ्ने बताए । ‘निश्चित पद र आकांक्षी धेरै हुँदा सबै साथीहरू पदीय हिसाबले समेटिन सक्नुभएन तर सबैलाई उद्योग संघमा क्रमशः भूमिका दिएर समेटिने छ,’ पौडेलले भने ।