
काभ्रेको नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो ।
गत साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ आमालाई सम्मानसहित नगद प्रदान गरिएको छ । वडा नं ९ को सहयोगमा दाप्चा स्वास्थ्यचौकीले नगरका विभिन्न वडाका सुत्केरी आमालाई सम्मान कार्यक्रम आयोजना गरी नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले सम्मान गर्दै प्रोत्साहन रकम प्रदान गरे । उक्त वडाले केही वर्षदेखि नै दाप्चा स्वास्थ्यचौकीमार्फत छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा सुत्केरी आमालाई छोरी जन्माएबापत वडाबाट प्रदान गरिने रु पाँच हजार, स्वास्थ्य संस्थामा सुत्केरी भएबापत रु दुई हजार, एम्बुलेन्स खर्चबापत रु एक हजार ८००, अन्य स्वास्थ्य संस्थामा रिफर भएर जानेलाई थप रु दुई हजार र चारपटक गर्भ जाँच गराएबापतको रु ८०० एकमुष्ट रुपमा प्रदान गरिएको वडाध्यक्ष मेलबहादुर तामाङले जानकारी दिए ।
नगरप्रमुख तिमल्सिनाले नगरपालिकाले सडकलगायत पूर्वाधारमात्रै नभई चेतनाको विकाससमेत अपरिहार्य रहेको तथ्यलाई मध्यनजर गर्दै छोरी प्रोत्साहन, बुहारी सम्मान कार्यक्रम सञ्चालन गरिएको बताए ।