२९ जेठ २०८३, शुक्रबार
पोखरा विमानस्थल

उडान भर्न अंग्रेजी नयाँ वर्षको साइत जुराउँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

असोज २१, २०७८
उडान भर्न अंग्रेजी नयाँ वर्षको साइत जुराउँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

कुनै व्यवधान नआए अबको ३ महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरू हुनेछ । लामो समय कोरोना महामारीले पोखराको पर्यटन क्षेत्र प्रभावित बनेको बेला अंग्रेजी नयाँ वर्ष २०२२ शुरूसँगै पर्यटनले छलाङ मार्नेमा पोखरेली आशावादी छन् । 

पोखरा विमानस्थल प्रमुख विक्रम गौतम भन्छन्, ‘२०२२ जनवरीदेखि घरेलु उडान हुनेछ । त्यसको १ वर्षमै अन्तर्राष्ट्रिय उडान भर्ने हाम्रो लक्ष्य छ ।’ 

विमानस्थल स्थानान्तरण तथा सञ्चालन तयारी गर्न गठित कार्यदलका संयोजक समेत रहेका विमानस्थल प्रमुख गौतमले जनवरी १ देखि आन्तरिक उडान खुला गर्न नागरिक उड्डयन प्राधिकरणलाई सिफारिस गरिसकेको जानकारी दिए ।

नेपालका करीब २ दर्जन राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक हो । निर्माणाधीन विमानस्थल पूर्व निर्धारित समयभन्दा ६ महिनाअघि नै सञ्चालन हुने गरी तीव्ररूपमा काम भइरहेकोमा पछिल्लो समय कोरोनाका कारण प्रभावित बनेको हो । नभए यतिबेलासम्म पोखरेली आकाशमा अन्तर्राष्ट्रिय उडान भइसक्थे । 

निकै महत्त्वका साथ हेरिएको पोखरा विमानस्थल सन् २०२१ जुलाई १० सम्म सक्ने समयसीमा थियो । कोरोना महामारी भित्रिनुअघि द्रूतरूपमा काम भइरहेकोले विमानस्थल निर्माण आयोजनाले त्यसको ६ महिनाअघि अर्थात सन् २०२० डिसेम्बरभित्रै निर्माण प्रक्रिया सकेर नेपाल सरकारले हस्तान्तरण गर्ने लक्ष्य राखेको थियो ।

दुवै मितिमा निर्माण पूरा हुन नसकेपछि समयसीमा १ वर्ष थप गर्दै आगामी सन् २०२२ जुलाई १० सम्म सम्पूर्ण निर्माण पूरा हुने लक्ष्य रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मी बताउँछन् । 

कुन–कुन संरचना बने ?

पोखरा महानगरपालिका–१४, १५ र १८ भित्र पर्ने आयोजनाको हालसम्म ८४ प्रतिशत काम पूरा भएको छ । २२ अर्बको परियोजनामा हालसम्म आर्थिक प्रगति ६९ प्रतिशत छ । निर्माणमा हाल चिनियाँ १८५ र नेपाली २३० जना कामदार काममा खटिएका छन् भने ११० वटा हेभी मशिनरी प्रयोग भइरहेका छन् ।

हालसम्म विमानस्थलको टर्मिनल, याक्ट टावर, ह्याङ्गर लगायत १४ वटा भवन बनेका छन् । तिनीहरूको फिनिसिङ बाँकी छ । रन–वे, आइसोलेटेड पार्किङ, ट्याक्सी वे, ह्याङ्गर एप्रोन, पेभमेन्ट मार्किङ, एअरफिल्डमा लाइटको काम सकिएको छ । 

विमानस्थलमा एक्सेस रोड, कार पार्किङ, टर्मिनल वरिपरिको बाटो र पाइप बिछ्याइएको छ । बाँकी काम अब मशिनरी जडान लगायतसँग सम्बन्धित छ । डिसेम्बरसम्म विदेशबाट सबै निर्माण सामग्री आइसक्ने र त्यसपछि काम गर्न सहज हुने विमानस्थल प्रमुख गौतमले बताए । 

गण्डकी प्रदेश सरकारको चासो

निर्माणको उत्तरार्द्धतिर पुग्दा गण्डकी प्रदेश सरकारले यसलाई निकै चासोको रूपमा हेरेको छ । विमानस्थल सञ्चालनपछि प्रदेशकै अर्थतन्त्रमा निकै महत्त्व राख्ने भएकाले उच्च महत्त्वका साथ हेरिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश र मुलुककै गौरवको आयोजना समयमै निर्धारित समयमै सम्पन्न गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

विमानस्थल आयोजनाको स्थलगत निरीक्षण गर्दै उनले प्रदेशको समृद्धिसँग जोडिएको यो विमानस्थललाई अधिकभन्दा अधिक प्रयोग गरी स्वदेशी र विदेशी पर्यटक पोखरा भित्र्याउनुपर्ने उनको भनाइ छ । पोखरामा विदेशीबाट सिधै उडान सञ्चालनका लागि गर्नुपर्ने तयारी अहिलेबाटै थाल्नुपर्ने भन्दै सुरक्षा, भन्सार, अध्यागमन कार्यालय सञ्चालनका लागि पनि पहल गर्नुपर्ने उनले बताए ।

निरीक्षणमा मुख्यमन्त्री पोखरेलसहित गण्डकीका मन्त्रीहरू कुमार खड्का, रामजीप्रसाद बराल ‘जीवन’, मणिभद्र शर्मा कँडेल, बिन्दुकुमार थापा, प्रमुख सचिव डा. दामोदर रेग्मीलगायत सहभागी थिए ।

५० वर्षअघिको सपना 

विमानस्थल निर्माण प्रक्रियाको शुरूआततर्फ फर्किँदा सन् १९५० सम्म पोखरा यातायातको साधनबाट पूर्णतः वञ्चित थियो । सडक सञ्जालसँग जोडिनुअघि हवाई यातायातमा जोडिएको पोखराका लागि सन् १९५३ मा काठमाडौं र सन् १९५९ मा भैरहवाबाट हवाई उडान थालनी भएको हो । पछि सन् १९६८ मा सिद्धार्थ राजमार्ग (पोखरा–सुनौली) र सन् १९७१ मा पृथ्वी राजमार्ग (पोखरा–नौबीसे) को निर्माणपछि पर्यटनले गति लिएको हो ।

विमानस्थल बनाउन २०३२ सालमा ३ हजार १०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पछि थप ५२१ रोपनी जग्गा अधिग्रहण गरियो । निर्माण जारी रहँदा २ वर्षअघि सरकारले फेरि १४८ रोपनी जग्गा अधिग्रहणको स्वीकृति विमानस्थल परियोजनालाई दिएको थियो ।

२०७३ वैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल शिलान्यास गरेका हुन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) मापदण्ड अनुसार फोरडी मोडलमा चिनियाँ कम्पनी सीएएमसी इन्जिनीयरिङले सन् २०१७ नोभेम्बरदेखि थालेको थियो ।   

त्रिभुवन विमानस्थलको विकल्प 

आवश्यक विधि र प्रक्रिया पूरा गरी चिनियाँ सीएएमसीई इन्जिनीयरिङ कम्पनीलाई नेपाल सरकारले निर्माणको जिम्मा दिएको छ । चिनियाँ सरकारबाट २२ अर्ब रुपैयाँ ऋण लिएर निर्माण थालिएको विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा हेरिएको छ । 

विमानस्थल बनेपछि दैनिक आन्तरिक ४८ र अन्तर्राष्ट्रिय ६ वटा उडान हुने गरी नागरिक उड्डयन प्राधिकरणले तयारी थालेको छ । विमानस्थलमा ११ वटासम्म जहाज पार्किङ गर्न मिल्छ । भौगोलिक जटिलताले विमानस्थलमा ठूला बोइङ जहाज अवतरण हुने छैनन् । 

२ हजार ५०० मिटर लामो धावनमार्गको विमानस्थलमा उडान वा अवतरित हुने विमानको यात्रु क्षमता झण्डै २ हजार जनाको हुने बताइएको छ । 

विमानस्थल सञ्चालन आएपछि पोखरा मात्र नभई समग्र नेपालकै पर्यटन क्षेत्रले फड्को मार्ने बताइन्छ । 

विमानस्थल सञ्चालनका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानका संस्थासँग निरन्तर छलफलमा रहेको विमानस्थल प्रमुख गौतम बताउँछन् ।

पोखराबाट उडान भर्ने हवाई यात्रालाई छोटो र सस्तो बनाउन आफूहरूले एयर रुटको अध्ययन गरिरहेको उनको भनाइ छ । उनका अनुसार उडान समय घटाउन भैरहवाबाट एयर रुट जोड्न सके उपयुक्त हुन्छ । किनकि भैरहवाको रुट ‘इनकमिङ’ नभई ‘आउट गोइङ’ रुट हो ।  विदेशबाट बढी सम्पर्क जोड्न सबैभन्दा मुख्य रुट बाराको सिमरा रुट हुने उनको भनाइ छ ।

उद्घाटनको बेला हङकङ, बैंकक, दोहा, दिल्ली गरी ४ गन्तव्यलाई प्रारम्भिक रूपमा जोड्न आफूहरू अघि बढेको उनले बताए । 

ल्यान्डफिल साइट, बाढी र डाँडा कटान समस्या

निर्माणाधीन विमानस्थल नजिकै ल्यान्डफिल छ । विमानस्थल सञ्चालनअघि ल्यान्डफिल साइट हटाउनुपर्ने पहिलो शर्त छ । यो हटाउने जिम्मा पोखरा महानगरपालिकाको हो तर अहिलेसम्म पहल भएको छैन ।

विमानस्थल सञ्चालनको ६ महिनाअगावै ल्यान्डफिल साइट परिवर्तन गर्नुपर्छ । ताकि चरालाई ठाउँ परिवर्तन गर्न पनि ६ महिनासम्म लाग्छ । नभए उनीहरू पुरानै ठाउँमा फर्किंदा उडानमा खतरा हुने मुनंकर्मीको भनाइ छ । विमानस्थलको हवाई सुरक्षासँग जोडिएको यो विषयमा महानगरमा पटक–पटक पत्राचार भए पनि पोखरा–३३ रजेडाँडामा सार्ने भन्ने विषयले मूर्तरूप लिन पाएको छैन ।

त्यसका लागि महानगर सरसफाइ शाखा, आईकाओका एशिया प्यासिफिक वन्यजन्तु तथा चरा नियन्त्रण कार्यक्रम अध्यक्ष, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक सहितको टोलीले सो क्षेत्रको स्थलगत अध्ययन समेत गरेका थिए । सो ठाउँ उपयुक्त रहेको निष्कर्ष रहे पनि उडान शुरू हुन लाग्दा ल्यान्डफिल हटाउन सकिएको छैन ।

विमानस्थल नजिकै रहेको खुला ल्यान्डफिल साइटका कारण चराचुरुङ्गीको क्रियाकलाप देखिएकाले यसको व्यवस्थापन तत्काल गर्न विमानस्थल आयोजना प्रमुख मुनंकर्मीले आग्रह गरे ।

विमानस्थल पूर्वी भेगमा रहेको रिठ्ठेपानी डाँडा काट्नुपर्ने काम थाँती नै छ । सो डाँडा ४० मिटर काटे मात्र विमान उडान मिल्छ । विमानस्थल मुखमा पर्ने रिठ्ठेपानी डाँडा खार्नका लागि स्थानीयस्तरबाट निजी जग्गा कटान शुरू भए पनि ठोसरूपमा अगाडि बढ्न नसकेको स्वयं मुख्यमन्त्री पोखरेलको स्वीकारोक्ति छ । 

उनले भने, ‘सरकारी वनतर्फको कटान शुरू गर्न पुनः एआईए गर्नुपर्ने छ ।’ विमानस्थलभित्र आयल डिपो निर्माणको काममा पनि ढिलासुस्ती भएको जानकारी उनले गराए । 

पोखराको धेरैजसो भागको पानीको निकास विमानस्थल आसपास भएकाले त्यसको व्यवस्थापन अभावमा विमानस्थल नै खतरामा पर्न थालेको छ । एयरपोर्टको पूर्वतर्फको जग्गा पहिरोको जोखिममा छ । रन–वेदेखि करीब ५० मिटर परसम्म पहिरोले छोइसकेको छ । वर्षाको भेल व्यवस्थापन अर्को समस्या छँदैछ । 

अत्याधिक वर्षाका कारण आउने भलले पूर्वी भाग कटान गर्ने खतरा बढेकाले यसबारे बेलैमा सोच्नुपर्ने विमानस्थल आयोजनाले जनाएको छ । आयोजनाले मुख्यमन्त्री पोखरेल समक्ष समस्याबारे जानकारी गराएपछि उनले भने, ‘स्थानीय नागरिकले उठाएका सवाल तत्काल सम्बोधन गर्नुपर्नेछ, पानी र ढल व्यवस्थापनका लागि ३४ करोड रुपैयाँ लाग्ने लागत अनुमान गरिएको छ, प्रदेशको स्रोतले मात्र भ्याउँदैन, हामी केन्द्रसँग समन्वय गर्छौं ।’

इन्धन डिपोको काम पनि अहिलेसम्म अगाडि बढेको छैन । नेपाल आयल निगमले इन्धन डिपोको पूर्वाधारको डिजाइन सके पनि टेन्डर प्रक्रियामै अल्झिएको छ ।  

स्थानीय के भन्छन् ? 

विमानस्थल बनाउन विमानस्थल निर्माण परियोजनाले पटके रूपमा गरेको जग्गा अधिग्रहण शृंखलाले स्थानीय आजित छन् । २ वर्षअघि सरकारले विमानस्थल बनाउन जग्गा अपुग रहेको भन्दै थप १४८ रोपनी जग्गा अधिग्रहणको स्वीकृति विमानस्थल परियोजनालाई दिएको थियो । त्यसबेला १ दर्जनजति घरपरिवारलाई मुआब्जासहित स्थानान्तरण गरिएको थियो तर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जनसरोकार समितिले परियोजनाले पटकेरूपमा गरेको जग्गा अधिग्रहणको शृंखलाले उठिबास लाग्ने स्थिति आएको गुनासो गरेको छ ।

विमानस्थल सञ्चालन पूर्व आफूहरूका १६ बुँदे माग पूरा हुनुपर्ने उनीहरूको अडान छ । समिति संयोजक गनेस पौडेल रन–वे बन्नु मात्र विमानस्थल बन्नु हैन भन्छन् । रन–वे बाढीको काम गरेको बताउँदै उनले त्यसको उचित ढल निकास हुनुपर्नेमा जोड दिन्छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्