
भारतीय र चिनियाँ सैनिकहरूबीच अरुणाचल प्रदेशको तवाङमा गत साता सानो झडप भएको खबर भारतीय सञ्चारमाध्यमहरूले दिएका छन् ।
स्थानीय कमान्डरहरूबीच वार्ता भएपछि उक्त झडप केही घन्टामा साम्य भएको बताइएको छ ।
लगभग १०० जना चिनियाँ सैनिकहरू भारतले दाबी गरेको भूभागमा प्रवेश गरेको अनि भारतीय सैनिकहरूसँग धकेलाधकेल भएको बताइएको छ । त्यसपछि दुवै पक्षले आफ्ना ब्याकअप सैनिकहरू मगाएका थिए ।
‘दुवै पक्षले वास्तविक नियन्त्रण रेखामा आफ्नो भूभाग मानेको स्थानमा गश्ती गर्ने क्रममा झडप भएको हो । सीमा स्थायी रूपमा निर्धारित नहुँदा दुवै पक्षको दाबी छ । केही घन्टासम्म आमनेसामनेको स्थितिपछि दुवै सैनिक आआफ्नो स्थानमा फर्केका थिए । भारतीय बंकरहरूाा क्षति पुगेको छैन,’ एक स्रोतले द टाइम्स अफ इन्डियालाई बतायो ।
भारतले तवाङमा ठूलो संख्यामा सैनिकहरू तैनाथ गर्ने गरेको छ । त्यस स्थानलाई चीनले दक्षिण तिब्बत भन्ने गरेको छ ।
भारत र चीनका सेनाबीच कोर्प्स कमान्डर तहमा १३औं चरणको वार्ता अर्को साता हुन लागेको बेलामा यो घटना सार्वजनिक भएको हो ।