
ग्लोबल आइएमई बैंकले आ.ब.२०७७/७८ मा आफ्ना शेयरधनीहरूलाई १३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
बैंक संचालक समितिको सोमवार बसेको ३९३ औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको १५ औँ वार्षिक साधारणसभाको स्वीकृति पश्चात आ.ब.२०७७/०७८ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना शेयर धनीहरुलाई रु. २ अर्ब ९२ करोड बराबरको १३.५ प्रतिशत लाभांश (बोनस शेयर १० प्रतिशत र नगद लाभांश ३.५० प्रतिशत) वितरण गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ ।
हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड रूपैँया रहेकोमा प्रस्तावित १० प्रतिशत बोनस शेयर वितरण पश्चात चुक्ता पुँजी रु. २३ अर्ब ७९ करोड पुग्ने छ । त्यस्तै, नगद लाभांश वितरण पश्चात बैंकको कूल पुँजीकोष रु. ३६ अर्ब ९२ करोड रहने छ । देशमा संचालित कुनै पनि वाणिज्य बैंकहरू भन्दा यो पुँजीकोष अत्यधिक रहेको छ ।
ग्लोबल आइएमई बैंकले आ.ब.२०७७/७८ मा ४ अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । १० प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्ने छ ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ । बैंकले भारत, अष्ट्रेलिया र बेलायतमा प्रतिनिधि कार्यालय खोली बैकिङ्ग कारोबार गर्दै आएको छ ।
कूल २७७ अर्ब निक्षेप तथा २६५ अर्ब कर्जा लगानी रहेको बैंकको हाल ७६ जिल्लामा फैलिएका २८० शाखाहरु, ४७ राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५० एटिएम, तथा २५७ शाखा रहित बैंकिङ्ग सेवा तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।