दक्षिण भारतको चलचित्र कलाकार संघमा भएको निर्वाचनमा एक अभिनेत्रीले अभिनेताको हात टोकिदिएकी छन् ।
आइतवार भएको चुनावमा हेमाले शिवा बालाजीलाई टोकेकी हुन् । बालाजीले यस विषयमा टिप्पणी गर्न मानेनन् ।
हेमाले बालाजीको देब्रे हातमा टोकेपछि बालाजी आत्तिएका थिए ।
चुनावमा प्रकाश राज र मन्चु विष्णुको प्यानलमा कडा प्रतिस्पर्धा छ ।
बालाजी मन्चु विष्णुको प्यानलबाट कोषाध्यक्षमा उठेका छन् । उनले भने, ‘प्रकाश राज प्यानलको समर्थकले वर्जित क्षेत्रमा पम्फ्लेट बाँडेको हामीले देख्यौं । उसलाई रोक्न खोज्दा ऊ भाग्यो । त्यसबेलामा मैले रेलिङमा हात राख्दा हेमाले मलाई टोकिन् ।’
हेमालाई यस विषयमा सोध्दा टोकेको स्वीकार गरिन् ।
‘हो, मैले उसलाई टोकेको हुँ । कुनै कारणविना कसैले पनि टोक्दैन । मैले उसलाई किन टोकेको उसैलाई सोध्नुस् । उसले व्याख्या गर्न सक्छ,’ हेमाले भनिन् । उनी प्रकाश राज प्यानलबाट उपाध्यक्षकी उम्मेदवार हुन् ।
हेमाले बालाजीलाई लभ बाइट दिएको हो कि भनी मानिसहरूले आशंका गरेपछि उनी लज्जित भइन् ।
बालाजीलाई उनका सहकर्मीहरूले अस्पताल लगे । उनलाई टिटानसको सुई र प्राथमिक उपचार दिइएको छ । पाँच दिन एन्टीबायोटिक खाने उनले बताएका छन् ।