
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गुटको राजनीतिका कारण कांग्रेस पार्टी लथालिंग भएको बताएका छन् । सभापतिको हैकम र मनोमानीले पार्टीको विधान समेत धूजा-धूजा पारेर च्यात्ने काम भएको बताए ।
‘विधानको कुन धारा कतिबेला निलम्बन गरिन्छ वा के थपिन्छ फेसबुक हेरेर थाहा पाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘जिल्लापिच्छे फरक-फरक नियम बनाएर अधिवेशन गरिएको छ । नेतृत्वमा बसेकाहरू जसरी पनि पार्टी कब्जाको अभियानमा छन् ।’
कांग्रेसको इतिहासमा आजसम्म प्रहरीको घेराबन्दीमा अधिवेशन भएको कसैलाई थाहा नभएको बताउँदै डा. कोइराला सभापतिकै जिल्लामा सुरक्षाकर्मी लगाएर अधिवेशन गरिनु खेदजनक भएको बताए ।
सुन्दरहरैंचा नगर मोरङको नवनिर्वाचित कार्यसमितिको पदस्थापन एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा. कोइरालाले प्रधानमन्त्री र प्रधानन्यायाधीशको मिलेमतो र साँठगाठले लोकतन्त्र खतरामा परेको बताए ।
कोइरालाले लोकतन्त्रको लागि लडेको पार्टी सभापतिले नै शक्ति पृथकीकरणको सिद्धान्त कुल्चनु अत्यन्तै दुःखद भएको बताए ।