
कञ्चनपुरका थारु समुदाय देउता जगाउनका लागि अष्टमीका दिन ढिक्री पूज्ने कार्यमा संलग्न भएका छन् ।
घरका मूली महिला र पुरुषले दिनभर व्रत बसी ढिक्री पूज्ने कार्य गर्दै आएका छन् ।
देउतालाई नुहाई नयाँ दियो बालेर गोलो ढिक्री, बाबरी, जमरा, मदिरा र जल चढाएर पूजा कार्यमा संलग्न भएको शुक्लाफाँँटा नगरपालिका–३ का सुमन चौधरीले बताए ।
‘कुभिण्डोको भेडाको प्रतिमा स्थापना गरी पूजा गर्ने चलन पनि छ,’ उनले भने, ‘पूजा गरेपछि व्रतालुले भोजन ग्रहण गरेपछि रातभर नाचगान गरी देउता जगाउने गरिन्छ । जसलाई भेडुवा जगैना भन्ने गरिन्छ ।’
रातभर जाग्नुपर्ने भएकाले नाचगान गरी रमाइलो गरिन्छ । बूढापाकाहरूले पुराना गीत गाउने र युवा युवतीले सखिया लगायतका नृत्यमा नाच्ने गर्दछन् ।
अष्टमीको राति नाचगान गरी नाच्नेले दशैंका दिन पहुरा (कोसेली) सहित बडघरको घरमा टीका थाप्ने चलन रहेको छ ।