
कञ्चनपुरमा स्थानीय प्रशासनले दशैंमा जिल्लामा मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वपक्षीय बैठकले बिहीवार साँझ ७ बजेदेखि शुक्रवार राति १२ बजेसम्मका लागि मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले दशैंको समयमा कुनै पनि आपराधिक गतिविधि नहोस् भनेर मदिरा बिक्रीमा रोक लगाइएको बताए । त्यसका साथै प्रहरी जिल्लाभर चाडपर्व लक्षित सुरक्षा योजनासहित शान्ति सुरक्षामा खटिएको उनले बताए ।
लुकिछिपी जुवा खेल्ने समूहलाई समेत प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरिरहेको छ । प्रहरीले मदिरा बिक्री वितरण बन्द गर्न जिल्लाभरिका प्रहरी कार्यालय र चौकीहरूलाई निर्देशन दिइसकेको छ ।
मदिरा नियन्त्रण अनुगमन समिति कञ्चनपुरका अध्यक्ष भगवती थापाले आफूहरू जिल्लामा मदिरा न्युनीकरण र नियमनका लागि २०६३ सालदेखि सक्रिय रहेको बताइन् ।
‘चाडपर्वमा हिंसात्मक घटना, चोरी डकैती बढ्ने भएकाले हामीले हरेक ठूला चाडपर्वमा मदिरा बिक्रीमा रोक लगाउन पहल गर्दै आएका छौं,’ उनले भनिन्, ‘स्थानीय प्रशासन र सम्बन्धित व्यापारीहरुबाट पनि सहयोग भएकाले यो सम्भव भएको हो ।’