
सप्तरीमा शनिवार भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
सप्तरीको खडक नगरपालिका–४ अमहास्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा २ र शम्भुनाथ नगरपालिका–८ मिलन चोकस्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा५६प २५१५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स५प ८४३४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुवै मोटरसाइकलमा सवार १/१ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा बा५६प २५१५ नम्बरको मोटरसाइकल सवार झापाको शिवसतासी नगरपालिका–६ बस्ने २२ वर्षीय विवेक सापकोटा र स५प ८४३४ नम्बरको मोटरसाइकल सवार झापाको भद्रपुर नगरपालिका–४ बस्ने वर्ष २१ का दयाराम सिंह राजवंशीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
महोत्तरीको मटिहानी नगरपालिका–७ बस्ने ३५ वर्षीय चन्दनकुमार साह गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारार्थ विराटनगरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले बताए ।
शम्भुनाथ नगरपालिका–८ मिलन चोकमा भएको दुर्घटनामा स२प ३३३३ नम्बरको मोटरसाइकल पछाडि सवार सप्तरीको बलान बिहुल गाउँपालिका–६ रौतहटका ४० वर्षीय प्रमोद मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई पछाडिबाट ना५ख ९००० नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो । बसको ठक्करले गम्भीर घाइते मण्डललाई सप्तऋषि अस्पताल लहानमा उपचार हुन नसकेपछि थप उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाइएको थियो । उपचारको क्रममा मण्डलको मृत्यु भएको प्रनाउ काफ्लेले बताए ।
मोटरसाइकल चालक बलान बिहुल गाउँपालिका–६ रौतहटका ३२ वर्षीय अमरनाथ यादव सामान्य घाइते भएका छन् । दुर्घटनाग्रस्त बस नियन्त्रणमा लिनुका साथै चालक चितवनको माडी नगरपालिका–४ का ३७ वर्षीय सुरेश रिमाललाई प्रहरीले पक्राउ गरेको छ ।