
हाइटीमा १७ जना अमेरिकी क्रिस्चियन धर्मप्रचारकहरूलाई आपराधिक समूहले शनिवार अपहरण गरेको छ ।
अपहरणमा पर्नेमा १४ वयस्क र तीन नाबालक छन् ।
धर्मप्रचारकहरू क्रोआ देस बुकेट्स क्षेत्रमा रहेको एक अनाथालयको भ्रमणपछि गाडीमा टिटानयेनतर्फ गइरहेका थिए । उनीहरूलाई बाटैमा अपराधीहरूले अपहरण गरेका हुन् ।
अमेरिकाको परराष्ट्र मन्त्रालयका एक प्रवक्ताले अपहरणको खबर पाएको बताए ।
सन् २०२१ मा हाइटीभरि अपहरणका घटनामा वृद्धि भएको छ । जुलाई महिनायता मात्र त्यसमा ३०० प्रतिशतको वृद्धि भएको छ ।
गत जनवरी महिनायतादेखि २९ विदेशीसहित ६२८ जना अपहरणमा परेको सेन्टर फर एनालाइसिस यान्ड रिसर्च इन ह्युमन राइट्स नामक संस्थाको तथ्यांकले देखाएको छ ।