
लुम्बिनी प्रदेशमा आइतवारदेखि परेको वर्षाले काट्न तयार भएको धानमा ठूलो क्षति पुर्याएको छ ।
धान खेतमा अहिले ताल बनेको छ । लुम्बिनी प्रदेशका सबैजसो जिल्लामा अझै पानी परिरहेको छ ।
दशैं नसकिँदै खेतहरूमा धान पाकेपछि काटेको र पाकेको धान वर्षाले क्षति पुर्याएको हो । दशैंसँगै किसानहरूलाई धान काट्न थालेका थिए । रुपन्देहीको मर्चवारी, सियारी, शुद्धोधन, लुम्बिनी सांस्कृतिक, देवदह, ओमसतियालगायतका स्थानीय तहमा काटेको धान पानीले डुबाएको छ ।
पश्चिम तराईका अधिकांश खेतहरूमा असोजको अन्तिम साता पाकिसकेको थियो भने कतिपय ठाउँमा अझै धान पाक्दै छ ।

धान उत्पादनको पकेट क्षेत्र मानिने रुपन्देहीको दक्षिण क्षेत्रमा विशेष गरी गोरखनाथ, राधा–४, सर्जु–५२ जातका धान लगाएका किसानहरूका खेतमा धान पाकेको थियो ।
रुपन्देही नेपालका धेरै धान उत्पादन हुने १० जिल्लाभित्र पर्छ । त्यस्तै कपिलवस्तु, बाँके, बर्दिया, पश्चिम नवलपरासीमा पनि वर्षाले धानबालीमा क्षति गरेको छ ।
वर्षाले उत्पादनमा १० प्रतिशतसम्म कमी आउने अनुमान किसानहरूले गरेका छन् ।
यस वर्ष समयमै पानी परेकाले किसानले धान बेलैमा रोपेका थिए ।