
बंगलादेशमा अल्पसंख्यक हिन्दू समुदायका मानिसमाथि विगत केही दिनयता लगातार आक्रमण भइरहेका समाचार आएका छन् ।
गत बुधवार राजधानी ढाकाबाट लगभग १०० किलोमिटर पर रहेको कुमिला नामक स्थानमा हिन्दूहरूले दुर्गा पूजाको उत्सव मनाइरहेको बेलामा मुसलमानहरूको पवित्र धर्मग्रन्थलाई अपमान गरिएको खबर सामाजिक सञ्जालमा फैलियो ।
त्यसपछि आक्रोशित भीडले दुर्गा पूजा पण्डालहरूमा आक्रमण गरेको थियो । अनि साम्प्रदायिक हिंसा फैलिँदै गएपछि अन्य शहरमा रहेका हिन्दूहरू पनि त्यसको चपेटामा पर्न थालेका छन् ।
हिंसामा परी अहिलेसम्म सात जनाको मृत्यु भइसकेको र ५०० भन्दा बढी घाइते भएको खबर विभिन्न सञ्चारमाध्यमले दिएका छन् ।
फेनी नामक स्थानमा हिन्दूहरूको घर, पसल र मन्दिरमा गरिएको आक्रमणले भारत विभाजनकै समयको झझल्को दिएको हिन्दू संगठनहरूको भनाइ छ ।
थप हिंसा भड्किन नदिनका लागि अतिरिक्त सुरक्षाबल तैनाथ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । अर्धसैनिक बल बोर्डर गार्ड बंगलादेशले देशका ६४ प्रशासनिक जिल्लामध्ये ३४ वटामा निगरानी बढाएको छ । अपराध नियन्त्रणका लागि गठन गरिएको र्यापिड याक्सन बटालियनले हिंसामा संलग्न प्रमुख व्यक्तिहरूलाई पक्राउ गर्नलाई लागि व्यापक अभियान चलाएको बताइएको छ ।
प्रधानमन्त्री शेख हसिनाले बिहीवार हिन्दू समुदायका मानिसलाई भेटेर अपराधीहरूका विरुद्ध कडा कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । जुनसुकै धर्मको भए पनि अपराधीलाई खोजेर कठोर सजाय दिइने आश्वासन उनले दिएकी छन् ।
गृहमन्त्री असदुज्जमान खान कमालले साम्प्रदायिक हिंसामार्फत देशमा अस्थिरता फैलाउनका लागि सुनियोजित रूपमा लागिपरेका कुतत्त्वहरूलाई एकएक गरी समात्ने बताएका छन् ।
सूचना तथा प्रसारणमन्त्री हसन महमुदले विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी र जमात–ए–इस्लामी यस हिंसाका लागि जिम्मेवार भएको आरोप लगाएका छन् । सीसीटीभी फूटेजबाट आक्रमणकारीहरू पत्ता लगाउने र सजाय दिइने उनको भनाइ छ ।
आफूहरूमाथि भइरहेको आक्रमणको विरोधमा बंगलादेश हिन्दू बुद्धिस्ट क्रिस्चियन युनिटी काउन्सिलले आगामी शनिवार भोक हड्ताल र धर्ना कार्यक्रम गर्ने घोषणा गरेको छ । न्यायको माग गर्दै हिन्दू तथा अन्य अल्पसंख्यक समुदायहरू धर्नामा बस्ने भएका हुन् ।
बंगलादेशको लगभग १७ करोड जनसंख्यामा हिन्दूहरू जम्मा ८.५ प्रतिशत छन् । सन् १९४७ मा भारत विभाजन हुँदा तत्कालीन पूर्वी पाकिस्तानमा ३० प्रतिशत हिन्दू थिए ।
सन् १९७१ मा भएको युद्धपछि पूर्वी पाकिस्तान बंगलादेश बन्यो र त्यतिखेर हिन्दूहरूमाथि चरम दमन तथा हत्या गरियो । निकै ठूलो संख्यामा हिन्दूहरू भारततर्फ पलायन भए । त्यसले गर्दा हिन्दूहरूको संख्या १३ प्रतिशतमा झरेको थियो ।
बंगलादेशमा हिन्दूहरूको संख्या लगातार घटिरहेको छ र अहिले त्यो ८.५ प्रतिशतमा सीमित छ । यसरी हिन्दूहरूको संख्या घटिरहेको भए पनि बंगलादेशका कट्टरपन्थीहरूलाई त्यति पनि सह्य नभएर हिन्दूमाथि आक्रमण गरिरहेका हुन्छन् ।
शेख हसिनाको शासनकालमा हिन्दूहरूमाथिको आक्रमण केही कम भएको तथ्यांक देखिन्छ । नत्र त्यसअघि विभिन्न बहानामा आक्रमण गरिन्थ्यो ।
सन् १९९२ मा भारतको अयोध्यामा बाबरी मस्जिद भत्काइएपछि बंगलादेशमा हिन्दूहरूमाथि बर्बर आक्रमण गरिएको घटना तसलिमा नसरीनको पुस्तक ‘लज्जा’मा वर्णन गरिएको छ ।
खालेदा जियाको शासनकालमा हिन्दूहरूमाथि व्यापक मात्रामा आक्रमण गर्ने गरिएको प्रख्यात पत्रकार शहरियार कबीरको नेतृत्वमा बनेको एक टोलीले अभिलेख राखेको भारतीय राजनीतिकर्मी तथागत रोयले लेखेका छन् । उनलाई यस्तो अभिलेख राखेकोमा जेल समेत पठाइएको थियो । उनको अभिलेख एक श्वेतपत्रमा उल्लेखित छ र त्यसमा देशका अल्पसंख्यक समुदायमाथि १५ सय दिनसम्म गरिएको दमनको वर्णन छ ।
शेख हसिनाले शासन चलाउन थालेपछि सन् २०१३ मा जमात–ए–इस्लामी नामक उग्रवादी समूहले हिन्दूहरूमाथि आक्रमण गरी ४० वटा मन्दिरमा तोडफोड गरेको थियो । कोमिला जिल्लामा त्यतिखेर पनि हिन्दूहरूको घर र पसलमा आगजनी गरिएको थियो ।
अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले हिन्दूहरूमाथिको आक्रमणमा चिन्ता व्यक्त गरेको थियो । त्यसपछि पनि हिन्दूहरूमाथिका आक्रमणका घटना फाट्टफुट्ट हुने गरेका छन् ।
पोहोर साल एक कट्टरपन्थी नेता मामुनुल हकको भाषणलाई आलोचना गर्दै एक हिन्दू युवकले फेसबूकमा पोस्ट गरेपछि उनका हजारौं समर्थकहरूले सिल्हेटमा हिन्दूहरूको ७० देखि ८० वटा घर भत्काएका थिए ।
बंगलादेशमा हिन्दू मात्र नभई अल्पसंख्यक शिया, अहमदिया, क्रिस्चियन र बौद्ध समुदायका मानिसमाथि पनि आक्रमण हुने गरेको विभिन्न अधिकारवादी संगठनहरूको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसो त शेख हसिनाले इस्लामिक कट्टरपन्थीहरूमाथि कठोर दमनको नीति अपनाएकी छन् । उनका पिता तथा बंगलादेश स्वतन्त्रता संग्रामका नायक मुजीबुर रहमानलाई इस्लामिक उग्रवादीहरूले हत्या गरेका थिए । उनले पिताका हत्याराहरूलाई सजाय दिनका लागि अथक प्रयास गरेकी थिइन् र त्यसमा सफलता पनि पाएकी थिइन् । युद्धअपराधी अब्दुल कादर मोल्लालाई मृत्युदण्ड दिइएको थियो ।
शेख हसिनाले कट्टरपन्थीहरूमाथि दमन गरेपछि कट्टरपन्थी समूह जमात–ए–इस्लामी भूमिगत भएको थियो । पत्रकार अभिजीत मजुमदारका अनुसार, शेख हसिनाले जमातप्रति सहानुभूति राख्ने इस्लामी बैंक र इब्न सिना अस्पताललाई सरकारको नियन्त्रणमा ल्याएकी थिइन् ।
तर जमातको सूचना प्रविधि शाखा बाशेर केल्लाले हालैका दिनमा हिन्दूविरोधी प्रचारबाजी गर्न थालेको मजुमदार लेख्छन् । जमातको हौसला बढाउनमा सरकारको पनि हात रहेको आरोप मजुमदारले लगाएका छन् ।
पर्यवेक्षकहरूलाई उद्धृत गर्दै मजुमदारले शेख हसिनाको दल अवामी लीग चुनावी फाइदाका लागि जमातसँग गोप्य तालमेल गरिरहेको मजुमदार लेख्छन् । अवामी लीगको विद्यार्थी संगठन छात्र लीगले हिन्दूहरूमाथि आक्रमण गर्ने गरेको आरोप पनि छ ।
त्यसबाहेक शेख हसिनाले हिफाजत–ए–इस्लाम नामक संगठनलाई पनि प्रोत्साहन गरिरहेको मजुमदारको भनाइ छ । उक्त संगठनले चलाएका कौमी मदरसाहरूलाई सरकारले पुनर्जीवन दिइरहेको छ अनि ढाकामा रहेको सर्वोच्च अदालत परिसरमा महिलाको मूर्ति हटाउन उसले गरेको मागलाई पूरा गरेको छ ।
अर्थात्, शेख हसिनाले इस्लामी कट्टरपन्थी संगठनहरूलाई निमिट्यान्न नपारेर आफ्नो फाइदाका लागि उपयोग गर्ने रणनीति बनाएकाले उनीहरू प्रोत्साहित भएर अल्पसंख्यक हिन्दू समुदायमाथि आक्रमण गरिरहेको देखिन्छ ।
पाकिस्तानमा ईश्वरनिन्दा कानूनको आडमा अल्पसंख्यक समुदायमाथि आक्रमण गरिने गरेकोमा बंगालदेशका कट्टरपन्थीहरूले पनि त्यसको सिको गरिरहेको देखिन्छ । ढाका ट्राइब्युनमा मानवशास्त्री मोहम्मद तारेक हसनले प्रकाशन गरेको लेखमा इस्लामी धर्मग्रन्थको अपमानको बहाना बनाउँदै घृणावादी कट्टरपन्थीहरूले अल्पसंख्यक समुदायमाथि आक्रमण गर्ने योजना बनाउन थालेको लेखेका छन् ।
यो समस्या बंगलादेशमा मात्र सीमित छैन । यसैबीच जम्मु–कश्मीरमा पनि इस्लामी कट्टरपन्थीहरूले हिन्दू समुदायका सर्वसाधारणको हत्या गरेको खबर आइरहेको छ ।
अफगानिस्तानमा कट्टरपन्थी तालिबानको विजयपछि दक्षिण एसियामा उग्रवादीहरूको मनोबल बढिरहेको देखिन्छ । त्यसले गर्दा मुसलमानबहुल देशमा अल्पसंख्यकहरूमाथिको आक्रमणले तीव्रता पाउने संकेत पाइएको छ ।