३१ जेठ २०८३, आइतबार

आज कर्णाली प्रदेशमा कोजाग्रत पूर्णिमाको सार्वजनिक बिदा

कात्तिक ३, २०७८
आज कर्णाली प्रदेशमा कोजाग्रत पूर्णिमाको सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसरमा आज बुधवार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

कोजाग्रत पूर्णिमा मंगलवार भए पनि पूर्णिमा व्रत एवं कात्तिक स्नान बुधवारदेखि शुरू हुने भएकाले प्रदेश सरकारले बुधवार बिदा दिएको हो । 

विक्रम संवत् २०७८ वैशाख १७ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले असोज शुक्ल पूर्णिमाको अवसरमा कात्तिक ३ गते बिदा दिने निर्णय गरेको थियो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा बिदा लागू हुने जनाएको छ ।

यसैबीच, स्याङ्जाको बिरुवा गाउँपालिकाले बुधवार सार्वजनिक बिदा दिएको छ । बिरुवा–७ मा अवस्थित मनकामना मन्दिरमा कोजाग्रत पूर्णिमाका अवसरमा गरिने पञ्चबलि पूजालाई स्थानीय पर्वका रूपमा मनाउनका लागि बुधवार सार्वजनिक बिदा दिएको गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले जानकारी दिए । मन्दिरमा राँगो, बोका, कुखुरा, परेवा र हाँसको बलि दिने गरिन्छ ।

‘गाउँपालिकाकै धार्मिक आस्थाको धरोहरको रूपमा हामीले गहते मनकामनालाई अगाडि बढाएका छौं,’ उनले भने, ‘धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना रहेको यस क्षेत्रको प्रचारप्रचार गर्दै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रका रुपमा विकास गर्ने हेतुले उक्त स्थानमा हुने मेलालाई पर्वका रूपमा मनाउनका लागि सार्वजनिक बिदा दिएका हौं ।’

पञ्चवली पर्वलाई स्थानीय पर्वका रूपमा लिँइदै आइएको छ । हाल एकादशी र औंसीका दिनमा बाहेक दिनहुँ पूजाआजा गर्ने व्यवस्था मिलाएको अध्यक्ष शर्माले बताए ।

‘धार्मिकरूपमा निकै प्रसिद्धी कमाएको यस मन्दिरमा बिरुवा, हरिनास गाउँपालिकासहित वालिङ, चापाकोट, पुतलीबजार, भीरकोट नगरपालिकालगायत तनहुँ, पाल्पा, नवलपरासीबाट पनि दर्शनार्थी आउने गर्नुहुन्छ,’ उनले भने ।

मन्दिरका नाममा भाकल तथा बलि दिने गर्नाले मनोकामना पूरा भएको विश्वास गरिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्