इजिप्टमा एकजना पत्रकारले फेसबूक लाइभ गरिरहेको बेलामा उनको फोन चोरेर भाग्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
चोरले आफ्नो अनुहार पनि लाइभमा ल्याएपछि मानिसहरूले उनलाई सजिलै चिनेका थिए ।
राजधानी कायरोमा मंगलवार पत्रकारले पुलमा लाइभ गरिरहेको बेलामा मोटरसाइकलमा आएका चोरले मोबाइल खोसेर भागेका थिए ।
द सेभेन्थ डे पत्रिकाका पत्रकार महमुद राघेबले हालै आएको भूकम्पका विषयमा लाइभ रिपोर्टिङ गरिरहेका थिए ।
फूटेजमा देखिएअनुसार, बाइकमा आएका चोरले पत्रकारबाट फोन खोस्छन् अनि आफ्नो दुई गोडाको बीचमा राखेर भाग्छन् ।
तर लाइभ चलिरहेको र त्यसलाई २० हजारजनाले हेरिरहेको उनी चाल पाउँदैनन् । मुखमा चुरोट च्यापेर ती व्यक्तिले सीधै क्यामरामा हेरिरहेका हुन्छन् ।
क्यामरामा सजिलै मुख देखिएकाले चोर समात्न प्रहरीलाई सजिलो भएको थियो ।