०१ असार २०८३, सोमबार

एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा सार्ने तयारी

कात्तिक ४, २०७८
एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा सार्ने तयारी
सांकेतिक तस्वीर

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन बुटवलबाट चितवनमा सार्ने आन्तरिक तयारी थालिएको छ ।

एमालेको दशौं विधान महाधिवेशन समापन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा आयोजना हुने घोषणा गरेका थिए ।

तर, आठौं राष्ट्रिय महाधिवेशन पनि बुटवलमा भएकाले दशौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्नुपर्ने धेरैको माग भएकाले सार्न लागिएको एमाले नेताहरूले बताएका छन् । 

‘दशौं राष्ट्रिय महाधिवेशन चितवनमा नै गर्ने अन्तिम निर्णय भइसकेको छैन । धेरैको माग चितवनमा गर्नुपर्छ भन्ने छ । त्यहाँको सम्भावनाको बारेमा छलफल भइरहेको छ’, एमालेका एक नेताले बताए । 

एमाले अध्यक्ष ओलीले केही दिनअघि चितवनको एमाले जिल्ला कमिटी अध्यक्ष पार्वती रावलसहितको टोलीसँगको भेटमा चितवनमा दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्न सकिन्छ भनेर सोधेका थिए । 

उनीहरूले एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा आयोजना गर्दा त्यसको व्यवस्थापन गर्न चितवन जिल्ला कमिटी तयार रहेको ओलीलाई बताएका थिए । 

महाधिवेशन बुटवलबाट चितवन सार्ने कुरामा उपमहासचिव विष्णु पौडेलले पनि ग्रीन सिग्नल दिएको एमाले चितवनका एक नेताले बताए । 

महाधिवेशन सार्ने विषयमा छलफल हुँदा उनले चितवनमा व्यवस्थापन गर्न सकिन्छ भने सार्दा पनि फरक नपर्ने प्रतिक्रिया दिएको ती नेताको भनाइ छ ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजना स्थलको बारेमा आज बस्ने स्थायी कमिटी बैठकले निर्णय गर्ने सम्भावना रहेको एक नेताले बताए । 

salt training

कमेन्ट गर्नुहोस्