काठमाडौ, १६ पुस ठूला जलाशययुक्त आयोजना निर्माण नभएसम्म नेपालमा लोडसेडिङ अन्त्य नहुने विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयका पदाधिकारीका अभिव्यक्तिलाई झुट साबित गर्दै तिहारदेखि उपत्यकालगायत देशका प्रमुख सहरहरू अन्धकारमुक्त भएका छन् । एकाएक आएको यो उज्यालोलाई स्वयं प्राधिकरणका प्राविधिकहरूले समेत विश्वास गरेका थिएनन्, आजको अन्नपुर्ण पोष्टमा खबर छापिएको छ ।
बिजुलीको खपत बढी हुने तर उत्पादन घट्दै जाने मध्य पुससम्म आइपुग्दा काठमाडौं उपत्यकालाई लोडसेडिङले चिहाएको छैन । उपत्यकाबाहेक देशका अन्य भूभागमा आंशिक र नगण्य रूपमा बिजुली कटौती भइरहेको छ । काठमाडौंलाई लोडसेडिङमुक्त बनाउन सकिएकोमा स्वयं विद्युत् प्राधिकरणका इन्जिनियरसमेत आश्चर्यमा छन् ।
तिहारको लक्ष्मीपूजाको रातलाई अन्धकारमुक्त पार्ने प्राधिकरणको प्रयासलाई धेरैले कुलेखानीको पानी रित्याएको र उद्योगहरूको लोड नभएको मौकाको सदुपयोग गरेको अनुमान गरे ।
तिहारको तीन दिन त्यसै पनि उद्योग नचल्ने र तिनले खपत गर्ने करिब तीन सय मेगावाट बिजुलीको बचत नै उपत्यकामा वितरण गरिएको लख काटिए । तर तिहार बिदा सकेर नियमित रूपमा उद्योगधन्दा चल्दा पनि उपत्यकामा बिजुली नगएपछि सबैजना आश्चर्य परे ।
दसैंअघि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङले उद्योगलाई अत्यधिक बिजुली खपत हुने समयको तीन घन्टा कटौती गरे । उद्योगहरूलाई साँझ तीन घन्टाको बदलामा २१ घन्टा नियमित बिजुली दिए ।
यसले गर्दा उद्योगहरू पनि खुसी भए । नेपाल उद्योग वाणिज्य महासंघको तथ्यांकअनुसार विगतमा लोडसेडिङका बेला उद्योगहरूले वार्षिक १६ अर्ब रुपैयाँभन्दा बढीको डिजेल प्लान्टबाट बिजुली उत्पादनका लागि डिजेल खरिद गर्दै आएका थिए ।
महासघंका अध्यक्ष पशुपति मुरारकाका अनुसार उद्योगमा नगण्य रूपमा भएको लोडसेडिङले यस क्षेत्रलाई निकै ठूलो राहत भएको छ । उद्यमीहरूमा नयाँ प्लान्ट स्थापना गर्ने र उत्पादन गराउने आत्मविश्वास बढेको उनले बताए ।
विगतमा डिजेल प्लान्टबाट बिजुली उपयोग गर्दा लागत अत्यधिक हुने र प्रतिस्पर्धात्मक क्षमतामा पनि ह्रास भएको र कतिपय उद्योगले डिजेल प्लान्ट राख्न नसकेको अवस्थामा अहिले नियमित बिजुली आपूर्तिले निकै उत्साहित पारेको मुरारकाले बताए ।
‘बत्ती नभएर नयाँ उद्योग आउन सकिरहेका छैनन्, अब बत्ती पाइन्छ भन्ने विश्वास भएको छ । यसले मुलुकको उद्योग क्षेत्रमा अत्यन्त सकारात्मक आशा उत्पन्न गरेको छु, मुरारकाले शुक्रबार भने ।