०५ असार २०८३, शुक्रबार

नेपाली राजनीतिको आगामी दिशा, खबरदारी र जवाफदेहिताबारे काठमाडौंमा प्यानल छलफल

असार ५, २०८३
काठमाडौं
नेपाली राजनीतिको आगामी दिशा, खबरदारी र जवाफदेहिताबारे काठमाडौंमा प्यानल छलफल

नेपाली राजनीतिको आगामी दिशा, खबरदारी र जवाफदेहिताको विषयमा केन्द्रित प्यानल छलफल काठमाडौंमा सम्पन्न भएको छ। युवा सिकाइ प्रयोगशाला ‘युवालय’को आयोजनामा बिहीबार पशुपतिस्थित होटल क्रिस्टलमा आयोजित कार्यक्रममा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष खनाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रेनुका काउचा तथा युवा राजनीतिक विश्लेषक नवीन तिवारी प्यानलिस्टका रूपमा सहभागी भएका थिए। कार्यक्रमको सहजीकरण युवालयका फेलो तथा लेखक सागर घलेले गरेका थिए।

छलफलमा नयाँ सरकारको कार्यशैली, प्रतिपक्षको भूमिका, नागरिक समाजको खबरदारी तथा नेपालको आगामी राजनीतिक दिशाबारे बहस गरिएको थियो।

कार्यक्रममा सांसद खनालले आफू सत्तारूढ दलको प्रतिनिधि भए पनि सरकारलाई निरन्तर खबरदारी गरिरहने बताए। उनले गत भदौ २३ र २४ गते भएको ‘जेन–जि आन्दोलन’का एजेन्डा आफूहरूलाई अझै स्मरण रहेको उल्लेख गर्दै संसद्‌मा युवाका मुद्दालाई प्राथमिकताका साथ उठाइने बताए। 

सरकारलाई जनअपेक्षाअनुसार सञ्चालन गर्न दबाब दिने र जवाफदेही बनाउन आवाज उठाइरहने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

त्यसैगरी सांसद काउचाले वर्तमान सरकार संसदप्रति पर्याप्त उत्तरदायी नरहेको आरोप लगाइन् । सरकारले प्रतिपक्षको आवाजलाई बेवास्ता गरिरहेको भन्दै उनले कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारलाई निरन्तर खबरदारी गरिरहने बताइन् । आफू पनि युवा सांसद भएकाले युवाका मुद्दा ओझेलमा पर्न नदिने उनको भनाइ थियो।

null

राजनीतिक विश्लेषक नवीन तिवारीले राजनीतिमा उमेरभन्दा नेतृत्वको इमानदारिता, नियत र आकांक्षाले ठूलो भूमिका खेल्ने बताए । उनले वर्तमान सरकारले केही अलोकतान्त्रिक अभ्यासलाई प्रोत्साहन गर्न खोजेको आरोप लगाउँदै संसद्‌मा उठ्नुपर्ने विषयहरू पर्याप्त रूपमा उठ्न नसकेको टिप्पणी गरे। 

नागरिक समाज र युवाको प्रतिनिधिका रूपमा युवाका मुद्दा निरन्तर उठाउने तथा सरकारलाई जवाफदेही बनाउन भूमिका खेल्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

छलफलमा सहभागी वक्ताहरूले लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ गर्न सरकार, प्रतिपक्ष, नागरिक समाज र युवाबीचको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेका थिए । 

उनीहरूले जवाफदेही शासन, सक्रिय नागरिक सहभागिता र युवाको अर्थपूर्ण राजनीतिक उपस्थितिले नेपालको लोकतान्त्रिक भविष्यलाई थप मजबुत बनाउन सक्ने धारणा राखेका थिए।
 

salt training

कमेन्ट गर्नुहोस्