भिजिट भिसामा आएर काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा यौनधन्दामा संलग्न रहेको आरोपमा पाँच देशका ४३ महिलालाई पक्राउ गरी जरिवानापछि डिपोर्ट गरिएको छ ।
‘सुरक्षित काठमाडौं’ अभियानअन्तर्गत काठमाडौं प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार भिजिट भिसामा नेपाल आएका ती महिलाहरू ठमेल क्षेत्रमा यौनधन्दामा सक्रिय रहेको पाइएपछि नियन्त्रणमा लिइएको हो ।
एसपी भट्टराईका अनुसार पक्राउ परेका महिलाहरू २३ देखि ४५ वर्ष उमेर समूहका छन् । उनीहरूमध्ये २९ जना युगाण्डाका, ६ जना भियतनामका, २ जना थाइल्यान्डका, २ जना बंगलादेशका र ४ जना केन्याका नागरिक रहेका छन् ।
अनुसन्धानका क्रममा उनीहरूले ठमेलका सडक तथा रात्रीकालीन व्यवसाय केन्द्रित क्षेत्रमा ग्राहक खोज्ने, यौन सेवाको मोलमोलाइ गर्ने तथा स्वदेशी–विदेशी पर्यटकलाई हैरानी दिने गरेको भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ठमेलको फायरचोक क्षेत्रबाट मात्र एकैपटक २० जना युगाण्डाली महिलालाई पक्राउ गरिएको थियो । पक्राउ परेकाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरिएको थियो ।
उनीहरू विभिन्न रकम धरौटी बुझाएर छुटेका थिए । त्यसपछि अध्यागमन विभागले फरक–फरक मितिमा उनीहरूलाई एक वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी सम्बन्धित देशमा डिपोर्ट गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरीले पछिल्लो समय ‘सुरक्षित काठमाडौं’ अभियानअन्तर्गत रात्रीकालीन गस्ती तथा निगरानी बढाएको छ । विशेषगरी पर्यटकीय क्षेत्र ठमेलमा चोरी, लुटपाट तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रणका लागि सुरक्षा निगरानी कडा बनाइएको प्रहरीले जनाएको छ ।
एसपी भट्टराईका अनुसार नेपालमा यौनजन्य व्यवसाय कानूनले निषेध गरेको छ । सर्वसाधारणबाट समेत गुनासो आउन थालेपछि विशेष अपरेसन सञ्चालन गरी विदेशी नागरिकलाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया पूरा गर्दै डिपोर्ट गरिएको हो ।
प्रहरीको भनाइअनुसार केही विदेशी महिलाहरू भिसाको अवधि सकिनुअघि नै काठमाडौंमा बसेर यौनधन्दामार्फत आम्दानी गर्ने र त्यसपछि स्वदेश फर्कने गरेको प्रवृत्ति पनि अनुसन्धानका क्रममा देखिएको छ ।
भिडियो सामग्री :