
रियल सोसिडाड फेरि स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीवार राति भएको खेलमा सेल्टा भिगोलाई उसैको मैदानमा २–० गोलले हराउँदै सोसिडाडले पुनः शीर्ष स्थान कब्जा गरेको हो ।
सोसिडाडलाई जिताउन अलेक्जेन्डर इसाक र आरिट्ज इलुस्टोन्डोले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा इसाकले ५४औं मिनेटमा खाता खोलेका थिए । ७९औं मिनेटमा इलुस्टोन्डोले माइकल मेरिनोको पासमा गोल गर्दै सोसिडाडको अग्रता दोब्बर बनाए ।
घरेलु मैदानमा बल पोसेसनमा पकड जमाएको सेल्टा भिगोले गोल गर्न भने सकेन । ५७ प्रतिशल बल पोसेसन राखेको सेल्टा भिगोले १४ वटा पोस्ट प्रहार गरेको थियो ।
सेल्टा भिगोको लगातार प्रयासमा सोसिडाडका गोलरक्षक म्याथ्यु रायन बाधक बने । ४३ प्रतिशत बल पोसेसन राखे पनि सोसिडाड महत्त्वपूर्ण जित निकाल्न सफल भयो । सोसिडाडका गोलरक्षक म्याथ्यु रायन ‘म्यान अफ दी म्याच’ भए ।
जितसँगै सोसिडाडले २४ अंक बनाएको छ । ११ खेलमा सात जित, तीन बराबर र एक हार खेपेको सोसिडाडले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई तीन अंकले पछि पारेको छ । एक खेल कम खेलेको रियलको २१ अंक छ । सोसिडाडसँग पराजित सेल्टा भिगो १० अंक सहित १४औं स्थानमा छ ।