
सोलुखुम्बु जिल्लाका सेवाग्राहीहरूले अप्टिकल फाइबर लिंक स्थापना पश्चात दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने भएका छन् ।
हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवाको गुणस्तरमा थप वृद्धि हुने भएको टेलिकमले जनाएको छ ।
समुद्री सतहबाट ३ हजार मिटर उचाइमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेशनलाई बिहीवार १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडिएको हो ।
रेडियो लिंकको स्वाभाविक गुण तथा क्षमताको सीमितताले गर्दा विगत लामो समयदेखि सेवाग्राहीहरूको आवश्यकता र चाहना भएतापनि उच्च गति तथा गुणस्तरका सेवा उपलब्ध हुन सकेको थिएन ।
नयाँ अप्टिकल फाइबर लिंक सञ्चालनमा अप्रत्यासित समस्या भएमा रेडियो लिंकलाई तुरुन्तै प्रयोग गर्न सकिने भएकाले सेवाको नियमित उपलब्धतामा सहयोग पुग्ने टेलिकमले जनाएको छ ।
पत्ताले रिपिटरलाई फाइबरबाट लिंक गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लु लगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरूको गुणस्तर अभिवृद्धि हुनेछ । यसका साथै यो लिंकबाट ओखलढुंगा तथा खोटाङ जिल्लाका टावरहरूको मोबाइल ट्राफिक आदान प्रदान गर्न सहज हुने टेलिकमले जनाएको छ ।
विगतका वर्षहरूमा यी क्षेत्रमा टेलिफोन सेवाको गुणस्तरीयताका बारेमा टिका टिप्पणी हुने गरेको सन्दर्भमा अप्टिकल फाइबर लिंकको प्रयोगसँगै अब उप्रान्त ग्राहकले गुणस्तरीय सेवाको अनुभव गर्नसक्ने अपेक्षा गरिएको टेलिकमका प्रवक्ता राजेश जोशीले बताएका छन् ।