
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय युवा परिषद कार्यालयको अनुगमन गरेका छन् ।
राष्ट्रिय युवा परिषद्को अध्यक्षसमेत रहेका मन्त्री अथकले कार्यालय भवन तथा युवा परिषद् अन्तर्गतका ६ वटा शाखाको निरीक्षण गरे ।
निरीक्षणपछि कर्मचारी तथा पदाधिकारीहरुलाई निर्देशन दिँदै मन्त्री अथकले युवा परिषद्लाई युवाहरुको केन्द्रका रुपमा स्थापित गर्न प्रतिबद्ध भएर काम गर्न आग्रह गरे ।
युवा परिषद्ले युवाहरुको मनोविज्ञान बुझेर योजनाहरु तर्जुमा गर्नुपर्ने बताउँदै मन्त्री अथकले भने, ‘भविष्य बोकेका युवाहरुको मनोविज्ञान तथा भावना बुझेर दीर्घकालीन योजनाको खाका तयार गर्नुहोस् ।’
उनले युवाहरुलाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न नयाँ ढंगले सोच्न आवश्यक रहेको बताए । ‘युवालाई स्वदेशमै केही गर्ने सपना देखाउनुहोस्,’ उनले भने, ‘स्वदेशमै विभिन्न क्षेत्रमा सफल कर्मशील युवाहरुबाट उत्प्रेरित हुने गरी अन्य युवाहरुलाई समेत स्वदेशमै रोक्ने खालका योजनाहरु अगाडि बढाउनुहोस् ।’
मन्त्री अथकले सामान्य कर्मचारीभन्दा माथि उठेर देशभरका युवाहरुलाई सपना देखाउने व्यक्तिका रुपमा आफूलाई उभ्याउन निर्देशनसमेत दिए ।
‘अहिलेकै अवस्थामा युवाहरु विदेशिने हो भने आगामी ३० वर्षभित्र नेपालमा युवाहरुको खडेरी पर्ने खतरा बढेको छ,’ उनले भने ।
युवा परिषद्का प्रशासकीय प्रमुख बाबुराम ढुंगानाले कार्यालयको प्रगति विवरण पेश गरेका थिए । पछिल्ला वर्षहरुमा परिषद्लाई उपलब्ध हुँदै आएको बजेटमा कटौती हुने क्रम बढ्दै गएको भन्दै ढुंगानाले त्यसतर्फ मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताए ।