
काठमाडौं, ८ असार — थाइल्यान्डका राजामाथि दुई किाशेरले एयर पिस्तोलबाट गोली चलाएपनि उनलाई कुनै चोटपटक नलागको जर्मन अधिकारीहरूले बताएका छन् ।

राजा महा वजिरालोङकोर्न आफ्नो अधिकांश समय जर्मनीमा बिताउँछन् र उनी म्युनिख विमानस्थलनजिक बुधवार राति साइक्लिङ गरिरहेका थिए ।
तेह्र र १४ वर्षका दुई किशोरले अर्डिङ शहरस्थित घरको झ्यालबाट राजामाथि गोली प्रहार गरेका थिए ।
उनीहरूले हानेको गोली राजालाई लागे नलागेको प्रस्ट छैन तर कोही पनि घाइते चाहिँ भएको छैन ।
राजा महाले गत वर्ष आफ्ना पिताको देहान्तपछि राजगद्दी सम्हाल्दै आएका छन् ।
‘राजा आफैंलाई गोली लागे नलागेको सुनिश्चित छैन,’ स्थानीय सरकारी वकिलको कार्यालयका प्रवक्ता टमस राउसरले बताए ।
‘थाहा भएअनुसार राजा साइक्लिस्टहरूको एक समूहमा थिए र त्यही समूहमाथि गोली प्रहार भयो ।’
उक्त समूह राजाको कारमा चढेर गएपछि पनि गोली चलेको उनले बताए ।
राजाका अंगरक्षकले प्रहरीलाई खबर गरेका थिए ।
राजाले उजुरी गर्न नमानेपनि १४ वर्षीय बालकमाथि अनुसन्धान भइरहेको छ । अर्का १३ वर्षीय बालकमाथि जर्मन कानूनले कुनै मुद्दा लगाउन मिल्दैन ।
बीबीसीबाट