१२ असार २०८३, शुक्रबार

५० वर्षदेखि पौवामा दुग्धजन्य परिकार उत्पादन

कात्तिक १३, २०७८
५० वर्षदेखि पौवामा दुग्धजन्य परिकार उत्पादन
प्रतिकात्मक तस्वीर

दुग्ध विकास संस्थानले विगत ५० वर्षदेखि दूर्गम मानिने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ जुगेपानीस्थित पौवामा दुग्धजन्य परिकार उत्पादन गर्दै आएको छ ।

संस्थानले पौवामा दुग्ध पदार्थ उत्पादन तथा बिक्री वितरण केन्द्र स्थापना गरी चिजलगायत दुग्धजन्य परिकार उत्पादन गरी संकलन गर्दै आएको हो ।  
विक्रम संवत् २०२७ सालमा काभ्रेपलाञ्चोकको साविक भिमखोरी गाविस–१ मा स्थापित केन्द्रले चीज, मखन, पनिर, नौनी लगायत दुग्धजन्य परिकार उत्पादन गरी मासिक १५ लाख रुपैयाँको कारोबार गर्दै आएको जनाइएको छ ।

यसरी उत्पादित सामग्री काठमाडौंस्थित संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा बिक्री–वितरणका लागि पठाइँदै आइएको केन्द्रका कर्मचारी जीवन श्रेष्ठले बताए ।

केन्द्रले पौवा तथा आसपासका उच्च पहाडी गाउँबाट दूध संकलन गर्दै आएको छ । केन्द्रमा भिमखोरीको पौवा, कातारचे, केराबासी, सोरे तथा छिमेकी जिल्ला सिन्धुलीको रामभेडा लगायतका गाउँ र आसपासका कृषि अनुसन्धान सहकारी, धर्मेश्वर दुग्ध सहकारी, महाभारत कृषि सहकारी र स्थानीय सौभाग्य महिला सहकारी लगायत ८ सहकारी संस्थाबाट दैनिक ७५० देखि ८०० लिटरसम्म दूध संकलन हुने गरेको श्रेष्ठले जानकारी दिए ।

केन्द्रबाट दैनिक ११५ किलो पनिर, ७५ किलो चीज, १८ किलो हाराहारीमा मखन उत्पादन हुने गरेको जनाइएको छ । पौवा रोशीको उच्च पहाडी भेग भएकाले सबै क्षेत्रमा यातायातका साधनको पहुँच नभएकाले केन्द्रमा स्थानीय तथा खच्चडबाट दूध संकलन गरिँदै आइएको छ ।

‘दूध ढुवानी गर्ने, स्थानीय व्यक्ति र खच्चरधनीलाई सहकारीमार्फत मासिक ज्याला दिने गरिन्छ,’ केन्द्र प्रमुख प्रकाश केसीले भने । उनका अनुसार उत्पादित परिकार गुणस्तरीय भएकाले स्थानीयले समेत खरिद गर्ने गरेका छन् । 

केन्द्र स्थापनापछि स्थानीय गाउँमा गाईभैंसी पाल्ने कृषकको संख्या बढेको कृषक सुरेश कर्माचार्यले बताए । ‘यस भेगमा उत्पादित दूध कहिल्यै खेर जाँदैन, सबै केन्द्रले लिने गरेको छ, यसकारण पहिलेभन्दा धेरै कृषकले गाईभैंसी पाल्दै आएका छन्,’ उनले भने । उनका अनुसार केन्द्रले दूध लिँदा दुर्गमका कृषकलाई गाईभैंसी पालेर आर्थिक उपार्जनमा निकै ठूलो मद्दत पुर्‍याइरहेको छ । 

११ रोपनी जमिनमा अवस्थित केन्द्रका ६ भवन छन् । केन्द्रका विभिन्न भौतिक संरचना जीर्ण बन्दै गएकाले मर्मत–सम्भारका एवं पुनर्निर्माणका लागि केन्द्रीय कार्यालयमा बजेट माग गरिएको प्रमुख केसीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्