
नवविवाहित जोडीले आफ्नो हनिमूनलाई स्मरणीय बनाउन ‘हनिमून प्याकेज’ बुक गरेका थिए । तर प्याकेजमा पर्याप्त सुविधा नदिएपछि हनिमून खराब भयो ।
यसपछि भारतको चण्डीगढस्थित उपभोक्ता विवाद निवारण आयोगमा उजुरी पर्यो र आयोगले होटललाई जरिवाना गरेको छ ।
भारतीय सञ्चारमाध्यममा प्रकाशित रिपोर्टमा नवविवाहित जोडीको नाम गोप्य राखिएको छ । आयोगले फैसलामा भनेको छ, ‘हनिमून कुनै पनि नवविवाहित जोडीका लागि जीवनको एक विशेष र भावुक क्षण हुन्छ । यस्तो यात्राको योजना पहिल्यै बनाइन्छ, किनकि कुनै पनि बाधाबाट बच्न सकियोस् । हनिमून जीवनको एक स्मृति पनि हो तर यस मामिलामा जोडी आफूसँग भएको व्यवहारले उदास भयो ।’
नवविवाहित २ जोडी दम्पतीले सँगसँगै यात्रा गर्न बुकिङका लागि अग्रिम करीब १६ हजार ५०० रुपैयाँ बुझाएका थिए । बुकिङका क्रममा जे–जे सुविधा पाइने वाचा गरिएको थियो, त्यो सुविधा नपाइएपछि नवविवाहित जोडीले आयोगमा उजुरी दिएका थिए ।
बुकिङका क्रममा देखाइएका दृश्य र स्वागत होटलमा नपाएपछि नवविवाहित जोडी असन्तुष्टि बनेका हुन् । त्यसपछि दुवै जोडीले त्यो होटल छाडेर अर्काे होटलमा बसेका थिए । दुई रात अर्काे होटलमा बस्दा १ लाख ५२ हजार रुपैयाँ अतिरिक्त खर्च भएको दाबी गरिएको छ ।
आयोगले होटललाई करीब ४५ हजार रुपैयाँ जरिवाना तोक्दै उजुरीकर्तालाई दिन फैसला सुनाएको छ ।