०७ असार २०८३, आइतबार

'अर्ली इलेक्सन' नहुने भन्दै प्रचण्डले भने- अदालतमा देखिएका समस्याबारे गठबन्धनले छिट्टै धारणा सार्वजनिक गर्छ

कात्तिक १३, २०७८
'अर्ली इलेक्सन' नहुने भन्दै प्रचण्डले भने- अदालतमा देखिएका समस्याबारे गठबन्धनले छिट्टै धारणा सार्वजनिक गर्छ

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने बताएका छन् । 

अध्यक्ष दाहालले गठबन्धन दलका नेताहरू कोही कता–कोही कता हुने स्थिति रहेकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन केही दिन ढिलाइ भएको पनि स्पष्ट पारे । 

शनिवार जनकपुरमा विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले गठबन्धन दलको बैठक बस्ने बित्तिकै समस्या समाधान हुने गरी अदालतको बारेमा आफूहरूले दृष्टिकोण बाहिर ल्याउने बताए । 

‘बैठक बस्नेबित्तिकै हामी आफ्नो धारणा बाहिर ल्याउँछौं । यसलाई समाधान गर्ने दृष्टिकोणले नै हामी हल गर्छौं । गठबन्धन स्मुथ्ली चलिराख्या छ । कुनै विवाद राजनीतिक वा अन्य विवाद आएको छैन,’ उनले भने । 

यस्तै अध्यक्ष दाहालले अर्ली इलेक्सन हुने कुनै पनि सम्भावना नरहेको बताए । ‘अर्ली इलेक्सन हुँदैन । बडो क्लियर हुनुहोला । अर्ली इलेक्सन किन हुँदैन भने हाम्रो संवैधानिक व्यवस्थाले पनि त्यो परिकल्पना गरेको छैन,’ उनले भने, ‘दोस्रो कुरा सर्वोच्च अदालतले गरेको फैसलाले पनि अर्ली इलेक्सन हुँदैन । कोही कन्फ्युज हुनु पर्दैन ।’

अध्यक्ष दाहालले राष्ट्रिय सभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर चुनाव लडने सैद्धान्तिक सहमति भइसकेको जानकारी दिए ।  उनले अध्यादेश ल्याएर भए पनि नागरिकता विधेयक अगाडि बढाउन आफूहरू तयार रहेको बताए । 

कमेन्ट गर्नुहोस्