
कहिलेकाँही मानिसहरुले अचम्मको काम गर्छन् । खासगरी आफूलाई आनन्द मिल्ने र मनोरञ्जन दिने कामका लागि मानिसहरुले हद नै पार गर्छन् ।
रुसमा बस्ने १८ वर्षीय भिक्टर एवदिवले पनि आफ्नो मनोरञ्जनका लागि हद पार गरेका छन् । रुसी मिडियामा आएको समाचारअनुसार भिक्टरले ख्याल–ख्यालमा एउटा चरालाई चुरोट पिलाइदिए ।
उनको यो कामबारे तब मात्रै खुलासा भयो, जब चुरोट पिइरहेको उक्त चराको तस्वीर सोसल मिडियामा भाइरल बन्यो ।
यस्तो घटना तब भयो जब भिक्टर आफ्नो कारमा चढेर घर गइरहेका थिए । उनले बाटोमा एकठाउँ गाडी रोके । अकस्मात गाडीको झ्यालबाट एउटा चरा उड्दै गाडीभित्र छिर्यो । भिक्टरले झ्याल बन्द गरे र चरालाई बाहिर निस्किन दिएनन् ।

केहीबेरपछि उनले एउटा खिल्ली चुरोट सल्काए र चराको मुखमा झोसिदिए । त्यसपछि चराले चुरोट पिइरहेको भन्दै फोटो खिचेर सोसल मिडियामा पोस्ट गरे ।
अहिले उनको उक्त फोटो सोसल मिडियामा भाइरल त भइरहेको छ नै उनलाई जरिवाना र दण्ड हुन सक्ने पनि संभावना छ ।
पशुपन्छीको अधिकारका क्षेत्रमा कार्यरतहरुले भिक्टरको उक्त कामको भत्र्सना गरेका छन् । साथै पशुअधिकारकर्मीहरुले उनलाई कडा कारबाही गरिनुपर्ने माग गरेका छन् ।
अहिले सरकारी अधिकारीहरुले उक्त घटनाको जाँच गरिरहेका छन् । यस मामिलामा भिक्टर दोषी ठहर भएमा उनलाई १ वर्षको जेल वा १ हजार डलर बराबर जरिवाना हुनेछ । एजेन्शी