रसुवा, ८ असार– चीनबाट नेपाल हुँदै भारतमा सुन तस्करी गर्न तस्करहरुले नयाँ तरिका अपनाएका भेटिएको छ ।
यसअघि ठूला गाडीमा लुकाएर सुन तस्करी हुँदै आएकोमा अब भने मोटरसाइकलमा लुकाएर सुन तस्करी हुने गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले मंगलवार मात्रै मोटरसाइकलमा लुकाएर सुन तस्करी गर्ने दुईजनालाई रसुवाबाट पक्राउ गरेको छ ।

बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको टोलिले मंगलवार पल्सर मोटर साइकलमा लुकाइ छिपाइ ल्याएको २ किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोटरसाइकलका चालक र अर्का एक जना छन् । प्रहरीले सुन तस्करीमा प्रयोग भएको बा७६प ७८१० नम्बरको पल्सर मोटरसाइकल पनि बरामद गरेको छ ।
उनीहरुको साथबाट दुई किलो सुन बरामद भएको जनाइएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको रसुवा प्रहरीले जनाएको छ । तस्करीमा संलग्न अन्य फरार व्यक्तिको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।