०६ साउन २०८३, बुधबार

राज्यका सबै अंगहरूमाथि प्रश्न उठ्यो– रामचन्द्र पौडेल

कात्तिक १५, २०७८
राज्यका सबै अंगहरूमाथि प्रश्न उठ्यो– रामचन्द्र पौडेल
फाइल फोटो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरूमाथि प्रश्न चिह्न उठेको बताएका छन् ।

सोमवार नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले राज्यका सबै अंगमाथि प्रश्न चिह्न खडा भएको बताएका हुन् ।

संसद्, संवैधानिक निकाय, अदालत र राजनीतिक पार्टीहरू समेतले आफ्नो भूमिका प्रभावकारी रुपमा खेल्न नसकेको उनले बताए ।

राजनीतिक पार्टीहरू जनताको भरोसाको केन्द्र भए पनि पार्टीहरूले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन नसकेको उनको भनाइ छ ।

उनले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन तथा प्रजातन्त्रको दरिलो सम्वाहक बनाउन आफू लागि पर्ने पनि बताए ।

देशमा पार्टी व्यवस्थित रूपमा चल्नुपर्ने, संवैधानिक निकायहरू व्यवस्थित रूपमा चल्नुपर्ने र अदालत पनि मर्यादामा रहनुपर्ने उनले बताए ।

उनले भने, 'आज संसद चल्न नसकेर अस्ति भर्खरै संसद स्थगित भएको छ । अदालतको त्यो अवस्था छ । अरु संवैधानिक निकायहरू त्यस्तै हालतमा छन् । राजनीतिक पार्टीहरूको त्यो हालत छ । आज राजतन्त्र गइसकेपछि राजनीतिक पार्टीहरू नै नेपाली जनताको भरोसाको केन्द्र हुन् । तर राजनीतिक पार्टीहरूको अवस्था के छ ? कम्युनिष्ट पार्टीको हालत हामीले देखिहाल्यौँ । त्यत्रो दुई तिहाइ बहुमत ल्याएर पनि त्यो चकनाचुर भएर गइराखेको छ । नेपाली कांग्रेसले पनि जुन किसिमको भुमिका निर्वाह गर्नुपर्ने हो त्यो नसकेकोमा म आफैँ पनि स्वीकार गर्छु । नेपाली जनतालाई भरोसाको केन्द्र बन्ने भूमिका कांग्रेसले अझैपनि निर्वाह गर्न सकिरहेको छैन । त्यो नसकेको कुरा मलाई चिन्ता छ । म कांग्रेसलाई कसरी नेपाली जनताको भरोसाको केन्द्र बनाउने, कसरी यो प्रजातन्त्रको दरिलो सम्वाहक बनाउने, कसरी लोकतन्त्रलाई मजबुद गराएर लोकतन्त्रको वारेस कांग्रेसलाई बनाएर र यो मुलुकमा लोकतन्त्रलाई सुनिश्चित गर्ने । यसका संस्थाहरू त्यही अनुसार फङ्सनमा आउनुपर्‍यो । पार्टीको सञ्चालन, अधिवेशनहरू व्यवस्थित रुपले चलेको हुनुपर्‍यो । देशको संवैधानिक निकायहरू व्यवस्थित रुपले चलेको हुनुपर्‍यो । राज्यसत्ता सिस्टममा चलेको हुनुपर्‍यो । देशको अदालत एउटा मर्यादामा रहेको हुनुपर्‍यो । आज यि सबै कुराहरूमा कहिँ न कहिँ प्रश्न उठिरहेको अवस्था छ ।’

वरिष्ठ नेता पौडेलले आफूले अहिले लोकतन्त्रको एजेन्डालाई बोकेर हिँडेको बताए । वर्तमान समयमा आर्थिक विकास र सामाजिक विकासको बाटोमा जानुपर्ने आवश्यकता रहेको भएपनि राजनीतिक मुद्दामै अल्मल्लिनु परेको भन्दै उनले प्राप्त राजनीतिक परिवर्तन र व्यवस्थालाई सुनिश्चिता दिनका लागि काम गर्नुपर्ने उनले बताए ।

उनले भने, 'मेरो एजेण्डा नै लोकतन्त्र हो । अहिले मेरो एजेण्डा नै लोकतन्त्र हो । फेरीपनि लोकतन्त्र एजेण्डा बनाउन पर्नुमा यसमा मलाई दुख छ । किनभने लोकतन्त्रको एजेण्डाको मुद्दालाई छिनोफानो गरेर त्यसलाई एउटा सुनिश्चिततामा गयौँ भनेर अब हामी आर्थिक विकास र सामाजिक विकासको बाटोमा जानुपर्ने थियो । हामी अझैपनि राजनीतिक कुराकै टुंगोमा अल्मल्लिनुपर्ने यो दुःखद कुरा हो । तरपनि अब यसमा हिम्मत हार्नु हुँदैन । हामी राजनीतिक व्यवस्थाको छिनोफानो भइसकेको कुरालाई सुनिश्चितता, यो आएको परिवर्तनलाई जोगाउने काम, आएको परिवर्तन र आएको व्यवस्था, यो व्यवस्थालाई सुनिश्चितता दिने काममा अहिले हामीले काम गर्नुपरेको छ ।’

उनले नेपालको व्यवस्था अस्थिर हुनुको विडम्बना नेपालले भोगिरहेको बताए । वर्तमान राजनीतिक प्रणाली र व्यवस्थालाई संस्थागत गर्नुपर्नेमा उनको जोड थियो ।

कमेन्ट गर्नुहोस्