
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाल कायम तरलता अभाव बैंकहरूले नै निम्त्याएको बताएका छन् ।
तरलता पर्याप्त भएका बेला ६ प्रतिशत ब्याजदरमै कर्जा लिन बोलाएका बैंकहरूले दीर्घकाल निम्ति नसोच्दा अहिले तरलता अभाव भएको गभर्नर अधिकारीले दाबी गरेका हुन् ।
गभर्नर अधिकारी नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमवार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा तरलता अभावबारे धारणा राख्दै थिए ।
‘बैंकहरूले घाँटी हेरेर हाड ननिल्दा तरलता समस्या निम्तियो, अहिले स्रोत बिनाको लगानी बढ्दा मिसम्याच भएको छ,’ उनले भने, ‘कोरोना महामारी नियन्त्रण निम्ति लगाइएको लकडाउन खुलाएपछि व्यवसायिक पुनरुत्थान तीव्र) गतिमा भयो, कर्जाको माग निकै बढ्यो, सोहीअनुसार प्रवाह भयो, यसकारण पनि तरलतामा समस्या देखियो ।’
सरकारी सुरक्षण कोषमा हाल ७ खर्ब रुपैयाँ रहेको र समग्र प्रणालीमा १७ अर्ब रुपैयाँ तरलता रहेको उल्लेख गर्दै अधिकारीले बैंक तथा वित्तीय संस्थाबाट ऋण नै नपाउने अवस्था भने नरहेको दाबी गरे । साथै, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) का कारण बैंकिङ प्रणाली बलियो भएको जिकिर गरे ।