
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
सोमवार नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले दशैं, तिहार छठ तथा नेपाल संवत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान सत्तारुढ गठबन्धन तोड्नका लागि अनेकौं षडयन्त्रहरू भइरहेका बताए ।
गठबन्धनलाई भत्काएर प्रतिक्रियावादी गठबन्धन बनाउने कसरत भएको उनले बताए । गठबन्धनभित्र वैचारिक र राजनीतिक रूपले कमजोर पात्रलाई प्रयोग गर्नका लागि खोजी भइरहेको पनि उनले जिकिर गरे ।
वैदेशिक शक्तिहरू गठबन्धन कमजोर पार्ने उपायको खोजीमा लागिरहेका पनि उनले बताए । उनले भने, ‘षड्यन्त्र सकियो, अब हामी पूरै विजयी भइसक्यौं भन्न सक्ने स्थिति अझै पनि छैन । यो गठबन्धन तोड्नका लागि अनेक षड्यन्त्र र हतकण्डाहरू अपनाइराखिएकै छ । फेरि पनि प्रतिक्रियावादी गठबन्धन बनाउने कसरत चलिराखेकै छ । गठबन्धनभित्र अलिअलि कमजोर को छ वैचारिक, राजनीतिक रूपले या अन्य राजनीतिक स्वार्थको हिसाबले त्यसको खोजी भई नै राख्या छ । यहाँभित्र अर्को त्यस्तो निरंकुश प्रवृत्तिको कोही मान्छे भेटिन्छ कि र त्यसलाई प्रयोग गर्न सकिन्छ कि भन्ने कसरत भई नै राख्या छ । वैदेशिक प्रतिक्रियावादीहरूको त्यो पक्ष जसले नेपालको यो परिवर्तनलाई रुचाएको छैन । यो संविधानलाई रुचाएको छैन । ती शक्तिहरू पनि कहीँ न कहीँ यो गठबन्धन कमजोर पार्ने उपायको खोजीमा छन् । त्यसकारण कर्मचारी साथीहरू तपाईं हामी सबैले अहिले पनि आँखा खुल्लै राख्नुपर्ने, कान खुल्लै राख्नुपर्ने, कहाँ कतिबेला कसले के गर्छ भन्ने कुरालाई हेक्का राख्नैपर्ने स्थिति छ ।’
अध्यक्ष प्रचण्डले तीनै तहको निर्वाचन एकैपटक गर्न सकिन्छ कि भनेर छलफल चलिरहेको बताए । तीनै तहको चुनाव एकैपटक गर्न सके चलखेल र षड्यन्त्र हुन नपाउने भन्दै उनले राज्यलाई आर्थिक बोझ पनि कम हुने बताए । उनले पहिले संघको निर्वाचन गराएर मात्रै स्थानीय तहको निर्वाचन गर्ने विचारहरू पनि छलफलमा आएको जानकारी दिए ।
उनले भने, ‘सकियो भने सबभन्दा राम्रो राज्यलाई कम भार पर्ने, जनतालाई कम दुःख हुने भनेको तीनै तहको निर्वाचन एकैचोटी गर्ने । प्रदेश अनुसार चरण–चरण गरेर गर्ने तीन चरण । गन्ने काउन्टिङ चाहिँ एकैचोटी गर्ने गर्यो भने त्यो धेरै चलखेल, षड्यन्त्र पनि हुन नपाउने, धेरै आर्थिक बोझ पनि राज्यको कम हुने, राजनीतिक दलहरूलाई पनि सजिलो हुने हो कि भन्ने एउटा विचार छ । अर्को, ३ वटैको गर्दा प्राविधिक गाह्रो पर्छ कि भन्ने तर्क छ र पहिला संघको निर्वाचन गर्ने अनि त्यसपछि स्थानीय तहको गर्ने कि भन्ने विचार पनि छ । यी २ वटा विचारको बीचमा छलफल चलिराखेको छ ।’