
सर्वोच्च अदालतमा मंगलवार कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेन ।
सोमवार बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ भएको थियो तर मंगलवार त्यो पनि हुन सकेन ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलवार बन्दीप्रत्यक्षीकरणका ६ वटा इजलास तोकेका थिए । जसमा ४ वटा संयुक्त र २ वटा एकल इजलास रहेको थिए ।
संयुक्त इजलासमा न्यायाधीश दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र हरिकृष्ण कार्की, बमकुमार श्रेष्ठ र कुमार चुडाल, तेजबहादुर केसी र डा. कुमार रेग्मीको रहेको थियो भने एकल इजलासमा न्यायाधीश प्रकाशकुमार ढुंगाना र न्यायाधीश सुष्मालता माथेमा रहेको थियो । यी ६ वटै इजलासमा बेन्च बस्न नसकेको जनाइएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीशले मुद्दाको सुनुवाइका लागि मंगलवार बन्दीप्रत्यक्षीकरणको मुद्दामा पेशी तोकेका थिए तर कुनै पनि बेन्च बस्न नसक्दा सुनुवाइ हुन सकेन ।
गत आइतवार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायलयमा प्रश्न उठेको र प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गरेका थिए ।
सोमवारदेखि नै मुद्दाको सुनुवाइ पूरै प्रभावित भएको छ । सर्वोच्च अदालतमा भएको मुद्दाको सुनुवाइ प्रभावित भएको मंगलवार ८ दिन पुगेको छ ।
सर्वोच्च अदालतको गत सोमवार पूर्ण बैठक (फुलकोर्ट) बसेर समस्याको समाधान गर्ने भनिएता पनि बैठक बस्न सकेन । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशको रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह समेत गरेका छन् ।
अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । जसले गर्दा पालोमा टाढाटाढाबाट आएका सेवाग्राहीहरु मर्कामा परेका छन् ।