१५ असार २०८३, सोमबार

बागमतीका मुख्यमन्त्री पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने

कात्तिक १६, २०७८
बागमतीका मुख्यमन्त्री पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने
फाइल फोटो

बागमती प्रदेशसभा बैठक कात्तिक २२ गते बस्ने भएको छ । 

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते राजीनामा दिएसँगै स्थगित भएको प्रदेशसभा बैठक  कात्तिक २२ गते बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने भएका प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा आइतवार नै दर्ता भइसकेको छ । 

मुख्यमन्त्री कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको पत्रमा कात्तिक १२ गते उल्लेख गरिएको भए पनि संसद् सचिवालयमा कात्तिक १४ गते मात्रै दर्ता भएको प्रवक्ता अमात्यले बताए ।

सरकारको नेतृत्व गरेको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोहीअनुरूप मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनेछन् ।

मुख्यमन्त्री पाण्डे कात्तिक ११ गते नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

बागमती प्रदेशसभामा हाल १०९ सदस्य छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्