
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । काँग्रेस नेता शाही नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
पूर्वसहमतिअनुसार यसअघिका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएसँगै उनी मुख्यमन्त्री भएका हुन् । महेन्द्रबहादुरले सोमबार राजीनामा दिएलगत्तै प्रदेश प्रमुखबाट नयाँ सरकार बनाउन भएको आह्वानअनुसार उनले मुख्यमन्त्रीमा आजै आफ्नो दावी पेश गरेका थिए ।
यसैबीच नवनियुक्त मुख्यमन्त्री शाहीले प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ समेत लिएका छन् । शाहीले मन्त्रीमण्डल भने भोलिमात्रै गठन गर्ने बताइएको छ । मन्त्रालयको भागबन्डामा गठबन्धनका दलहरुबीच सहमति हुन बाँकी रहेकाले आज मन्त्रिमण्डल गठन हुन नसकेकाे हाे । गठबन्धनमा कुनै विग्रह नआए शाहीले अब १६ महिना प्रदेश सरकारको नेतृत्व हाँक्नेछन् ।