०१ असार २०८३, सोमबार

एकल पुरुषलाई मासिक २ हजार ‘विदुर’ भत्ता

कात्तिक १७, २०७८
एकल पुरुषलाई मासिक २ हजार ‘विदुर’ भत्ता
प्रतिकात्मक तस्वीर

जुम्लाको गुठिचौर गाउँपालिकाले एकल पुरुषलाई विदुर भत्ता दिइने भएको छ । 

गाउँपालिकाले ४१ देखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने जनाएको छ । यसका लागि चालू आर्थिक वर्षमा ७ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए ।

उनले भने, ‘एकल पुरुषलाई मासिक २ हजार रुपैयाँका दरले विदुर भत्ता दिने कार्यपालिको निर्णय भएको छ ।’

गाउँपालिकाले विदुर भत्ता दिने निर्णयको एकल पुरुषले स्वागत गरेका छन् । समाजमा एकल पुरुष पनि साहराविहीन हुने गरेका छन् । सो भत्ताले थोरै भए पनि राहत दिने विश्वास गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।

सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गुठीचौर गाउँपालिकाले यसबाहेक थप एकल पुरुष भत्ता वितरण गर्न थालेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले बताए ।

अहिले गाउँपालिकाभित्र रहेका एकल पुरुषको तथ्यांक संकलनको काम शुरू भएको छ । 

तथ्यांक आउने वित्तिकै विदुर भत्ता दिन शुरू गर्ने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जानकारी दिए । एकल पुरुषको तथ्यांक संकलनका लागि प्रत्येक वडालाई सर्कुलर गरिएको छ । गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषिलो खाना हर्लिक्स, कुखुरा र अण्डा वितरण गर्दै आएको पनि छ ।

हिमाली जिल्लामा ६० वर्षदेखि माथिकालाई सरकारले सामाजिक सुरक्षा भत्ता दिने भएकाले त्योभन्दा तल ४० वर्ष भन्दा माथिका एकल पुरुषलाई विदुर भत्ता दिन थालिएको हो ।

गाउँपालिका महिला, बालबालिका, एकल पुरुष, एकल महिला, असहाय, अपाङ्गता भएका व्यक्तिको हितका लागि संवेदनशील रहेको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए । गाउँपालिकाले यसअघि एकल पुरुषले भोग्नु परिरहेको समस्याबारे अध्ययन गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्