
एटीएम कार्ड सुबिधा प्रदान गर्ने कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) को सञ्चालक समितिको अध्यक्ष पदमा सुमन पोखरेल नियुक्त भएका छन्। सञ्चालक समितिको बैठकबाट पोखरेल सर्वसम्मत रुपमा चयन भएका कम्पनीले जनाएको छ।
बुधबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा. नीलम ढुङ्गाना तिम्सिनाले नवनियुक्त अध्यक्ष पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराइन्। कार्यक्रमलाई सम्बोधन गर्दै डेपुटी गर्भनर डा. तिम्सिनाले यस क्षेत्रमा कार्यरत कम्पनीहरुले सुरक्षा सम्वेदनशीलता, कारोवारको गोपनियता र नीतिगत व्यवस्थाको परिपालनामा ध्यान दिनु पर्ने उल्लेख गरिन्।
साथै, मूलुकको डिजिटल इकोसिस्टमको विकासमा सबै पक्षको सहयोग र सहभागिता जरुरी रहेको बताउदै उनले नेपाल राष्ट्र बैंक र यस क्षेत्रमा कार्यरत संस्थाहरुको सहकार्यबाट मात्र प्रगति सहज हुने बताइन्।
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड बैंकिङ्ग क्षेत्रमा भुक्तानी सम्बन्धी कार्यलाई सहज बनाउने उद्देश्यले सन् २००१ मा स्थापना भई सन् २००३ देखि सञ्चालनमा आएको नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा सञ्चालकको इजाजतपत्र प्राप्त कम्पनी हो। विभिन्न बैंक तथा वित्तीय संस्थाहरु यसका प्रवर्द्धक रहेका छन्।
कम्पनीको सेवा २५ वटा बैंक तथा वित्तीय संस्थाहरु मार्फत प्रवाह भैरहेको छ। कम्पनीले भुक्तानीको कार्यलाई थप सहज बनाउन बैंकिङ्ग कार्डको अलावा डिजिटल पेमेनट प्लेटफर्म, स्मार्ट क्यूआर, डिजिटल बैंकिङ सर्भिस र पेमेन्ट गेटवेको सेवा समेत उपलब्ध गराउँदै आएको छ।
कार्यक्रममा अध्यक्ष सुमन पोखरेलले आधुनिक भुक्तानी प्रणालीको विकासमा नेपाल राष्ट्र बैंकको विद्युतीय भुक्तानीलाई प्रवद्र्घन गर्दै जाने नीति अनुसार नयाँ सेवा तथा सुविधा प्रदान गरी यस क्षेत्रको विकासका लागि सधैं अग्रसर रहने र नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने निर्देशन तथा मार्गदर्शनलाई पूर्ण पालना गर्दै अघि बढन प्रतिवद्घता व्यक्त गरे।
कार्यक्रममा नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल, निर्देशक निश्चल अधिकारी, उप निर्देशक तिर्थ ओझाका साथै एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुको उपस्थिति रहेको थियो।