०१ असार २०८३, सोमबार

डिभोर्ससँगै श्रीमतीलाई सम्पत्ति दिनुपर्ने भएपछि ...

कात्तिक २३, २०७८
डिभोर्ससँगै श्रीमतीलाई सम्पत्ति दिनुपर्ने भएपछि ...

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– ११ बाबा वनगाईका ४५ वर्षिया रामकेवल लोनिया र उनीकी श्रीमती चिन्का लोनियाबीच समय समयमा झगडा भइरहन्थ्यो । 

उनीहरूबीच झगडाको कारण थियो– सम्बन्धविच्छेद (डिभोर्स) । रामकेवल विना सम्पत्ति डिभोर्स दिने मूडमा थिए, तर चिन्काले सम्पत्ति मागेकी थिइन् ।

यसै क्रममा असोजको पहिलो साता एक दिन खाना खाइसकेपछि उनले श्रीमतीलाई घाँस काट्न जाऊँ भनेर जंगलतर्फ लगे ।

श्रीमानले घाँस काट्न जाऊँ भन्दा नजाने कुरा पनि भएन । तर उनीहरू दुवै जंगलबाट फर्किएनन् ।

बुवाआमा नै नफर्किएपछि चिन्तित छोरीले आफन्तको सहयोगमा प्रहरी कार्यालय गोरुसिंगे पुगेर खोजबिनका लागि उजुरी दिइन् ।

प्रहरीले खोजतलास गर्दा पनि उनीहरूको कुनै अत्तोपत्तो लागेन ।

यसैक्रममा असोजको अन्तिम साता कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ स्थित चम्पापुर–कपिलवस्तु साझेदारी सामुदायिक वनमा शव भेटिएको खबर प्रहरीमा आयो ।

महेन्द्र राजमार्गबाट करीब ५ सय मिटर उत्तरतर्फ शव भेटिएको ठाउँमा पुग्दा हड्डी र खप्परहरू मात्र बाँकी थियो ।

शव कुहिइसकेकाले कंकाल मात्र थियो । मानव कंकालको व्यवस्थापन गरेर प्रहरीले अनुसन्धान शुरू गर्‍यो ।

शुरूमा मानिस हराएको भनेर प्रहरीमा परेका उजुरीहरू पल्टाइयो ।

सूचीमा हेर्दा महाराजगञ्ज नगरपालिका– ११ बाबा वनगाईकी १८ वर्षीया पुनिता लोनियाले दिएको उजुरीसँग मिल्दोजुल्दो देखियो ।

प्रहरीले पुनितालाई प्रहरी कार्यालयमा बोलाए मानव कंकालसँग भेटिएको चप्पल र कपडा देखाए । पुनिताले आफ्नी आमाको साडी चिनिहालिन् ।

त्यसपछि उक्त कंकाल ३५ वर्षीया चिन्का लोनियाको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीले लोकान्तरलाई बताए ।

‘हामीले हो कि भन्ने शंका लागेर पुनितालाई बोलाएर देखायौं, उनले आफ्नी आमाले लगाएको कपडा सहजै चिनेपछि पहिचान खुल्यो,’ डीएसपी भण्डारीले लोकान्तरसँग भने ।

प्रहरीले आमाको त कंकाल फेला पार्‍यो, तर सँगै हराएका बुवा रामकेवल कहाँ छन् भन्ने पत्ता अझै लागेको थिएन । प्रहरीले प्राविधिक अनुसन्धान गरेर हेर्दा उनको मोबाइल लोकेसन भारततर्फ गएको देखियो ।

अनुसन्धान गर्दै जाँदा उनी नेपाल पनि आएको खुल्यो ।

सोही अनुसन्धानका आधारमा प्रहरीले उनलाई नेपाल–भारत सीमा नाकाबाट पक्राउ गर्‍यो ।

प्रहरीसँगको बयानका क्रममा उनले आफ्नी श्रीमतीको अर्कैसँग सम्बन्ध भएको र सम्पत्तिसहित डिभोर्स मागेकाले हत्या गरेको बताएका छन् ।

अर्कैसँग सम्बन्ध राखेर सम्पत्तिसहित डिभोर्स मागेकाले हँसियाले टाउकोमा प्रहार गरी हत्या गरेको उनको बयान छ ।

‘उनीहरूको झगडा डिभोर्सको विषयलाई लिएर भएको रामकेवलको प्रारम्भिक बयानमा देखिन्छ,’ प्रवक्ता भण्डारीले लोकान्तरसँग भने, ‘उनले श्रीमतीले अर्कैसँग अनैतिक सम्बन्ध गाँसेको दाबी गरेका छन्, तर त्यो अब पुष्टि हुँदैन, किनकी चिन्काको हत्या भइसकेको छ ।’

प्रहरीले अहिले जिल्ला अदालत कपिलवस्तुबाट १० दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्